पोखरामा यस वर्ष २० प्रतिशतले पर्यटक वृद्धि !

दीननाथ बराल, पोखरा न्यूज – १७, पुष । पर्यटकीय नगरी पोखरा आउने पर्यटकको सङख्या यस वर्ष (२०१९) मा पनि वृद्धि भएको छ । सन् २०१८ को तुलनामा २०१९ मा हवाई उडानबाट पोखरामा ओहोर-दोहोर गर्ने पर्यटकको सङख्यामा करिब २० प्रतिशतले वृद्धि भएको छ ।

सन २०१८ को तुलनामा २०१९ मा हवाई उडान मार्फत १ लाख २३ हजार १ सय ५४ जना बढी आन्तरिक तथा बाह्य पर्यटक पोखरा आउने र पोखराबाट बाहिर जाने गरेको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए । उनका अनुसार सन् २०१९ मा ७ लाख ३३ हजार १ सय २९ जना आन्तरिक तथा बाह्य  पर्यटकहरु पोखरामा हवाई उडान गर्दै पोखरा आउने तथा पोखराबाट अनेत्र गएका छन्।

गत वर्ष सन् २०१९ मा ३ लाख ६५ हजार ९ सय ३५ जना पर्यटक काठमाण्डौं, भरतपुर, भैरहवा, मुस्ताङसहित माउण्टेन फ्लाइट गरी पोखरा भित्रिएका छन् । त्यसैगरी पोखराबाट ३ लाख ६७ हजार १ सय ९४ जना पर्यटक अनेत्र बाहिरिएका छन्। अघिल्लो बर्ष सन २०१८ मा हवाई उडान मार्फत पोखरा आउने तथा पोखराबाट बाहिर जानेको सङख्या भने ६ लाख ९ हजार ९ सय ७५ जना थिए ।

हवाई उडानको सङख्या भने गत वर्षको तुलनामा करिब ५ प्रतिशतले घट्न गएको छ । अघिल्लो बर्ष सन् २०१८ मा पोखराबाट ४२ हजार ३ सय ५८ वटा हवाई उडान  भएका  थिए भने गत वर्ष २०१९ मा ४० हजार २ सय ५२ वटा हवाई उडान भएको सूचना अधिकारी सुवेदीले बताए ।

उनका अनुसार यति र बुद्धले धेरै सिट क्षमताका जहाज राखेसंगै हवाई उडान कम भए पनि पर्यटकको सङख्या भने वृद्धि भएको हो । पोखराबाट काठमाण्डौ जाने पर्यटकहरुले करिब ४ देखि ५ हजार शुल्क तिर्नुपर्छ भने काठमाण्डौबाट पोखरा आउने पर्यटकको सङख्या कम हुँदा  विभिन्न कम्पनीले प्रति व्यत्ति १ हजार ७ सयसम्म ल्याउने गरेका छन्।

सन् २०१८ को तुलनामा २०१९ मा हवाई उडानबाट पोखरा भित्रिने  विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । नेपाल भ्रमण बर्ष मनाइ रहँदा पोखरामा पनि विदेशी पर्यटक आगमनमा वृद्धि हुने पोखरेली पर्यटन व्यवासायीहरुको लागि समेत खुशीको कुरा हो ।  अघिल्लो वर्षको तुलनामा गत बर्ष सन् २०१९ मा हवाई उडानबाट पोखरा आउने र बाहिरिने पर्यटक १२ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी सुवेदीले बताए ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष २१ हजार ४ सय ६९ जना बढी पोखरामा हवाई उडान मार्फत आवत-जावत गरेको उनले जनाए । उनका अनुसार सन २०१९ मा २ लाख १ हजार २ सय ७९ जना विदेशी पर्यटक हवाई उडान मार्फत पोखरा आउने तथा जाने गरेको र अघिल्लो वर्ष सन् २०१८ मा भने १ लाख ७९ हजार ८ सय १० जना विदेशी पर्यटक पोखरा आउने तथा पोखराबाट हवाई उडान हुँदै बाहिरिएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलायन्सले पोखरा-काठमाण्डौं, काठमाण्डौं-पोखरा, पोखरा-भरतपुर, पोखरा-भैरहवा, भैरहवा-पोखरा, पोखरा-जोमोम, जोमोम-पोखरा लगायतका ठाँउमा हवाई उडान गर्दै आएका छन। त्यसैगरी पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनको लागि विभिन्न कम्पनीका हेलिकोप्टर तथा अल्ट्रालाईट समेत संचालन हुदै आएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button