प्रतिकुल मौसमका कारण पोखरामा शुक्रबारको हवाई उडान प्रभावित

दीननाथ बराल, पोखरा न्यूज-१८, पुष । पश्चिमी वायुका कारण पोखरा सहित नेपालका धेरै ठाउँमा आज (शुक्रबार) दिन भरी हुस्सु लाग्नुका साथै निरन्तर वर्षा भए पछि हवाई उडान प्रभावित भएको छ ।

प्रतिकुल मौसमका कारण शुक्रबार पोखराबाट हुने गरेका १६ वटा हवाई उडान रद्ध भएको पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीले बताए । उनका अनुसार शुक्रबार केही वेर मौसममा परिवर्तन भएसंगै १३ वटा हवाई उडान भएका थिए ।

तारा एयरले पोखरा देखि जोमसोम हवाई उडान गर्दै आउने क्रममा जोमसोममा भारी हिउँ परेकोले गर्दा पोखरा जोमसोमको ३ वटा हवाई उडान रद्ध भएको सूचना अधिकारी सुवेदीले जनाए । त्यसै गरी सिम्रिक एयरको दुई वटा हवाई उडान रद्ध भएको छ भने यति र बुद्ध एयरको पोखर-काठमाण्डौं, पोखरा-भैरहवा र पोखरा-भरतपुरको हवाई उडान प्रभावित भएको उनले जनाए ।

हवाई उडान रद्ध भएसँगै केहीले शनिबारको लागि टिकट सिफ्ट गरेका छन भने केहीले सडक मार्ग हुँदै  आफ्नो गन्तव्यमा लागे त केहीले मौसम खुल्ने आशमा एयरपोर्ट नजिकै बसेका थिए ।

त्यसै गरी शुक्रबार बिहानै देखि पानी परेर पोखरा क्षेत्रको आकास राम्रोसँग नखुल्दा शुक्रबार हुने भनिएको प्याराग्लाइडिङ समेत प्रभावित भएको छ ।

अँग्रेजी नयाँ बर्षको अवसरमा आएका पर्यटकहरुले शुक्रबारका लागि तय गरेको करिब ५ सय प्याराग्लाइडिङ उडान गर्न नपाएको हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताए । उनका अनुसार शुक्रबार करिब ५ सय प्याराग्लाइडिङ उडान रद्ध भएको छ । पोखरामा शुक्रबार साहसिक खेल प्याराग्लाइडिङ सहित अल्ट्रालाईट र हेलिकोप्टर उडान समेत प्रभावित भएको छ ।

त्यस्तै पोखरामा शुक्रबार यस बर्षको हिउँदको सबै भन्दा बढी बर्षा शुक्रबार भएको जल तथा मौसम विज्ञान विभाग पोखरा कार्यालयका नायव मौसम विज्ञान सहायक सुरेस खनालले बताए । उनका अनुसार शुक्रबार पोखरामा ३०.० मिलि मिटर पानी परेको छ ।

शुक्रबार ५ः३० बजे गरिएको मापनमा हिउदको समयमा यस बर्षकै सवै भन्दा बढी बर्षा भएको उनले जनाए । पोखरामा शुक्रबार न्यूनतम ९ डिग्रि सेल्सीएस सम्मको तापक्रम पुगेको खनालले जनाए । गत मंसिर २७ गते पोखरामा २२.२ मिलि मिटर पानी परेको थियो । शनिबार र आइतबार पनि देशका केही ठाउँमा हल्का पानी पर्ने मौसम विदले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button