पोखरामा प्याराग्लाइडिङको वर्ल्ड कप एसियन टुर हुने

दीननाथ बराल, पोखरा न्यूज-१८, पुष । सहासिक खेल प्याराग्लाइडिङको पोखरामा वर्ल्ड कप एसियन टुर हुने भएको छ । प्याराग्लाइडिङको अन्तराष्ट्रिय संस्था एफ.ए.आई र प्याराग्लाइडिङ वर्ल्ड कप कमिटिले नेपालको पोखरामा उक्त वर्ल्ड कप एसियन टुर आयोजना गर्न मान्यता दिएसंगै पोखरामा सो प्रतियोगिता हुने भएको विमल अधिकारीले बताए ।

उक्त प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म पोखराको सराङकोटमा हुने भएको अन्तराष्ट्रिय संस्थासंग समन्वय गरेका अधिकारीले बताए । उनका अनुसार एसियन प्याराग्ग्लाइडिङ पाइलटलाई विश्व र्याङकिङका खेलाडीहरुसंग राम्रो सिपको विकास गराउने उद्धेश्यले क्रस कन्ट्रि तर्फको इभेण्ट हुने भएको हो ।

एसियन खेलाडीहरुको क्षमता बृद्धि गरी प्याराग्लाइडिङको वर्ल्ड कप सुपर फाइनलमा समेत पुर्याउने लक्ष्यका साथ उक्त प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको अधिकारीले बताए । तीन ठाउँमा हुने उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले वर्ल्ड कपमा सिधै सहभागि हुन पाउने भएको उनले जनाए । नेपालमा हुने उक्त प्रतियोगिता यस बर्ष सुरक्षा र व्यवस्थापकीय दृश्टिले चुस्त भएमा अर्को बर्ष वर्ल्ड कप आयोजना हुने प्रवल सम्भावना रहेको अधिकारीले जनाए । नेपाल आर्मीको खोज तथा उद्धार टोलीले उक्त प्रतियोगिताको अवधिमा तयारी अबस्थामा (स्ट्यान्ड बाई) रेस्क्यू गर्न रहने भएको उनले जनाए ।

प्रतियोगितामा सहभागि हुन हालसम्म ३० देशका ७८ जनाले आफ्नो नाम दर्ता गराएको अधिकारीले बताए । प्रतियोगितामा अधिकत्तम एक सय २५ जनासम्म प्रतियोगिहरु सहभागि हुने भएकाछन्। प्रतियोगिता महिला तथा पुरुष एकल तथा टिम इभेण्टमा हुने भएको छ । नेपाल, भारत, चाइना, इण्डोनेसिया, कोरिया, फ्रान्स सहितका युरोप तथा पश्चिम मुलुका प्याराग्लाइडिङ पाइलट प्रतियोगितामा सहभागी हुने भएका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाडिङ संघको आयोजनामा पोखरामा उक्त इभेण्टमा पहिलो पटक उच्च स्तरको प्रतियोगिता हुने भएको संघका महासचिव शैलेन्द्र रावतले बताए । नेपाल भ्रमण बर्षको अवसरमा पोखरामा हुने उक्त प्रतियोगिताले नेपाल र पोखराको पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुर्याउने भएको ना का अध्यक्ष कृष्ण भण्डारीले बताए । नेपाल पर्यटन बोर्डले उक्त प्रतियोगितामा प्रवर्धन गर्ने भएको छ । यस अघि पोखरामा क्रस कन्ट्रि तर्फ प्रि वर्ल्ड कप र प्याराग्लाइडिङको एकुरेसी तर्फको इभेण्टमा स्याङजाको स्वरेक मैदानमा वर्ल्ड कप भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button