राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिप हुने

पोखरा न्यूज – २१, पुष । नेपाल भलिबल सङ्घले आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा आगामी माघ ३ देखि १० गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ ।

सङ्घले आज पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन गरिने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टोलीको सहभागिता रहने सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल, मणिमुकुन्द, नयाँबजार, जावलाखेल, ढोरपाटन, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेश, आरजे भलिबल ग्रुप र पार्वती युवा क्लब सहभागी हुने महासचिव चन्दले बताए ।

यस्तै महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, जाउलाखेल क्लब, न्यू डायमन्ड क्लब, ढोरपाटन क्लब, चितवन टाइगर्स क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको छ । विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा रु २३ लाख खर्च हुने सङ्घले जनाएको छ ।

सो अवसरमा सङ्घलाई सहयोग गर्दै आएका राष्ट्रिय वाणिज्य बैंकलगायतलाई नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button