मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

पोखरा न्यूज – २२, पुष ।  मुस्ताङ र आसपासमा परेको हिमपातसँगै यतिखेर चिसोको प्रवाह नगरी आन्तरिक पर्यटक पुग्न थालेसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ ।

विगतमा चिसो छल्न पोखरा, काठमाडौँलगायतका स्थानमा जाने गरेका मुस्ताङका स्थानीयवासी पर्यटकको आगमन बढेपछि अहिले भने होटेल तथा व्यवसाय सञ्चालन गरी बसेका छन् । चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन् ।

हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेकोे रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम नरोकिएको कालापानीस्थित होटल सियु लजका सञ्चालक अमित तुलाचनले जानकारी दिए । पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको उनले जानकारी दिए ।

पर्यटकीय नगरी पोखरा आएका पर्यटक हिमाली दृश्य अवलोकनकै लागि मुस्ताङसम्म पुग्ने गरेका छन् । यातायात सहज भएकोले बेमौसममा पनि पर्यटकको आगमन नरोकिएको स्थानीयवासी बताउँछन् । मुस्ताङ पुग्ने पर्यटक धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथसम्म पुगेर फर्कन्छन् । कतिपय उपल्लो मुस्ताङको लोमन्थाङ हुँदै कोराला नाकासम्म पुग्छन् ।

यसपटक हिमपात भएसँगै हिउँ खेल्न पोखरालगायतका स्थानबाट पर्यटक आउने गरेको थकाली सामुदायिक ‘होमस्टे’ ठिनीका सचिव जुना थकालीले जानकारी दिए । “ हिमपातका कारण हिउँ खेल्नकै लागि पर्यटक आएका छन्, हिमपातले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्याएको छ”, उनले भने ।

ठिनी पुग्नेहरु नजिकैको ढुम्बा ताल, हिउँले ढाकिएका डाँडा, गाउँ माथिको हिउँ चितुवा गुफा अवलोकन गर्न पुग्छन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय पोखराबाट सिधै हवाइजहाज मार्फत जोमसोम विमानस्थल झर्छन् । कतिपय पोखराबाट पर्वत, म्यादी हुँदै सवारीसाधन लिएर पुग्छन् ।

पर्यटक पुग्ने क्रम बढेसँगै अचेल मुस्ताङमा होटल व्यवसायमा लगानी बढिरहेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताए । सुविधा सम्पन्न होटेल थपिनाले पर्यटकलाई सजिलो भएको छ । विगतमा जाडोमा पर्ने हिउँले यहाँको जनजीवन कष्टकर हुने गरेकोमा पछिल्ला वर्ष त्यो हिमपात आयआर्जनको माध्यम बन्न थालेको उनले बताए ।

“हिमाली क्षेत्रमा हिमपात भएपछि उवालगायतका कृषिजन्य बाली फस्टाउने भएकाले स्थानीयमा खुसी छाउँथ्यो”, उनले भने, “ अचेल हिमपातसँगै हिउँ खेल्न पर्यटक आउन थालेकाले आम्दानी बढाएको छ ।” सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button