बागलुङ बसपार्कको निर्माण कार्य तीव्र गतिमा

रामबहादुर थापा–२४, पुष ।  बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापन भए पनि बसपार्क निर्माणको योजना अलपत्र थियो ।

बागलुङ नगरपालिकाले विसं २०७४ फागुनमा नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने निश्चित भएको थियो । विसं २०७५ कात्तिकमा ठेक्का टुङ्गाएपछि गएको फागुन १५ गतेदेखि ‘आशिष फेवा जेभी’ले निर्माणको काम थालेको हो । तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बसपार्कको शिलान्यास गरेका थिए ।

बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिए। उनका अनुसार ‘टर्मिनल’ भवनसहित बसपार्कको मैदान चौडा बनाउने काम सकिएको छ । व्यावसायिक भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

“आउँदो वैशाख मसान्तभित्रै निर्माण सक्ने लक्ष्यसहित धमाधम काम भइरहेको छ”, इञ्जिनीयर शर्माले भने । ‘टर्मिनल’, व्यावसायिक भवनसँगै ३५ मिटर चौडा र ९८ मिटर लम्बाइ भएको ‘पार्किङ’स्थल, सवारी मर्मत केन्द्र, फोहर सङ्कलन केन्द्र, भूमिगत ट्याक्सी ‘पार्किङ’, बगैँचालगायतका संरचना बसपार्कभित्र बन्नेछन् ।

बसपार्कको शुरुको ‘डिजाइन’मा केही फेरबदल हुँदा गत असारदेखि भदौसम्म निर्माण कार्य प्रभावित भएको थियो । बसपार्क निर्माणमा अब ढिलाइ नहुने निर्माण कम्पनीले जनाएको छ । “बसपार्कको ५० प्रतिशत काम पूरा भएको छ, तोकिएकै समयभित्र निर्माण सकिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले भने ।

पुनः नक्साङ्कनसहित प्राविधिक पक्ष हेरफेर गर्दा बसपार्कको लागत रु एक करोड १३ लाख थपिएको छ । ठेक्का हुँदा निर्माण कम्पनीले रु सात करोड ६६ लाख ९९ हजारमा बसपार्क निर्माणको जिम्मा पाएको थियो । ‘डिजाइन’ परिवर्तनसँगै लागत बढेर रु आठ करोड ७९ लाख ९९ हजार पुगेको छ । जसमध्ये नगर विकास कोषको ऋण लगानी ९० प्रतिशत, नेपाल सरकारको सात र बागलुङ नगरपालिकाको साढे दुई प्रतिशत लगानी छ । वार्षिक पाँच दशमलव पाँच प्रतिशत ब्जाजदरमा २० वर्षभित्र तिर्ने गरी नगरपालिकाले कोषसँग ऋण सम्झौता गरेको थियो । उक्त ऋणको रकम बसपार्कमा आउजाउ गर्ने सवारी साधनबाट उठेको पैसाबाट तिर्ने लक्ष्य छ ।

अब पनि बसपार्क निर्माणमा ढिलासुस्ती भए जग्गादातामाथि ठूलो अन्याय हुने जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताए । समितिको नाममा रहेको स्थानीयवासीको ५९ रोपनी जग्गामध्ये १७ रोपनी जग्गा विसं २०७१ मा बसपार्क बनाउन नगरपालिकालाई दिइएको थियो । तीमध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने छन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुलीजस्ता पूर्वाधार निर्माण गरिनेछ । बसपार्कका लागि १८ वर्षदेखि जग्गा बाँझै छाडेका स्थानीयवासीले जग्गा फिर्ताको माग गरेका छन् ।

नगरप्रमुख जनकराज पौडेलले प्राविधिक समूहबाट अध्ययन गराई तत्काल जग्गादाताको समस्या समाधान गरिने बताए । व्यवस्थित र सुविधायुक्त बसपार्क निर्माण गर्ने वर्षौंदेखिको योजना साकार हुन लागेको उनको भनाइ छ ।  “बागलुङ विकासको प्रमुख पूर्वाधार बसपार्क हो । त्यसैले समयमै पूरा गर्न आफैं लागिपरेका छौं” उनले भने, “ठेकेदारलाई दैनिक भेटेरै काम सक्न निर्देशन दिइरहेका छौं । पहिलेभन्दा तीव्र रूपले काम भइरहेको छ ।” अहिले बागलुङ नगरपालिका–३ चिप्पलेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button