कास्कीमा सुन्तलाको उत्पादन घट्यो, १४ हजार मेट्रिक टन मात्र उत्पादन

दीननाथ बराल, पोखरा न्यूज – २४, पुष । कास्कीमा यस वर्ष पनि सुन्तला उत्पादनमा कमि आएको छ । प्रतिकुल मौसम र सुन्तलामा सिट्रस ग्रिनिङ रोगका कारण यस वर्ष पनि कास्कीमा सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले बताए ।

उनका अनुसार कास्कीमा गत वर्षको तुलनामा करिब ४ हेक्टर बढी क्षेत्रफलमा फल दिने सुन्तलाका बोट भए पनि उत्पादनमा भने केही कमी भएको छ । गत वर्ष २०७५/०६६ को तुलनामा यस वर्ष ७ सय ३० मेट्रिक टन सुन्तला कम उत्पादन भएको प्रमुख अधिकारीले जनाए । यस बर्ष २०७६/०७७ मा कास्कीमा १४ हजार ४ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । कास्कीमा १ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा लगाईएको सुन्तलाबाट उक्त सुन्तला उत्पादन भएको उनले जनाए । गत वर्ष २०७५/०७६ मा कास्कीमा १ हजार ९ सय ८४ हेक्टरमा लगाइएको सुन्तला खेतिबाट १५ हजार १ सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको प्रमुख अधिकारीले बताए ।

सुन्तला टिप्ने समयमा लगातार वर्षा हुनाले यस क्षेत्रमा सुन्तला उत्पादनमा कठिनाइ उत्पन्न भएको उनले बताए । उत्पादित फलको गुणस्तरमा कमी आउनु र समग्र उत्पादनमा ह्रास आउनुले यस क्षेत्रका कृषक मारमा परेको उनले जनाए । कास्कीमा हाल सुन्तलाको पकेट क्षेत्र भनेर चिनिएको कृस्ती नाच्नेचौर क्षेत्रलगायत कास्कीको भलाम, प्रर्साङ, हेमजा, घाचोक, पुम्दी भुम्दीमा सुन्तला उत्पादनमा निकै ह्रास आएको छ ।

कास्कीको सुन्तलाको पकेट क्षेत्रमा सुन्तला प्रवर्धन गर्न यस वर्ष करिब २२ लाख रुपैया विनियोजन गरिएको प्रमुख अधिकारीले बताए । उनका अनुसार कृस्ती नाच्नेचौर क्षेत्रको सुन्तलाको व्लकमा सुन्तलाको प्रवर्द्धन गर्न केन्द्रिय सरकारबाट करिब २२ लाख रुपैया विनियोजन भएको हो । स्थानीय करिब १ सय ५० जना सुन्तला उत्पादन गर्ने किसानहरु यसबाट लाभान्वित हुने भएको प्रमुख अधिकारीले जनाए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत उक्त बजेट सुन्तलाका बिरुवा काटछाट गर्न जरा र फेदमा वोडो मिश्रण गर्न विनियोजन गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button