पोखरामा ‘मुनामदन’ नाटक मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – २५, पुष ।  पोखरा थिएटरको गन्धर्व नाटक घरमा आगामी माघ ९ गते नाटक ‘मुनामदन’ मञ्चन हुने भएको छ । डायमण्ड माध्यामिक विद्यालय तालचोकका विद्यार्थीको अभिनयमा यो नाटक हेर्न पाइनेछ । माघ ९ गते विहान साढे ११ बजे पहिलो सो हुनेछ । दिउँसो १ बजे अन्तरक्रिया गरिनेछ । पुनः दिउँसो २ बजे नाटक मञ्चन गरिनेछ । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो नाटकलाई अनिल गुरुङ र नारायण प्रसाद पराजुलीले संयुक्त निर्देशन गर्दैछन् । यो गीति नाटक हो ।

नाटकमा सञ्चिता थापा, सौरभ खत्री, पुनम भण्डारी, सुलभ खनाल, रिजन राना,, सोनिया गुरुङ, प्रकाश गुरुङ, सफल तिवारी, विजय पौडेल, सरोज पराजुली, निश्चा शर्मा र पुष्पा शाहीको अभिनय रहनेछ । नाटकका निर्देशक मध्येका एक नारायण प्रसाद पराजुलीले नाटक ३३ मिनेटको अवधिको हुने बताए । विद्यार्थीहरुले गरेको मेहनतका कारण नाटक राम्रो बन्ने उनको विश्वास छ । ‘विद्यार्थीले देखिएका कमी कमजोरीलाई सुर्धार्दै अगाडी बढेका छन्, उनीहरुको अभिनय क्षमतामा निखारता आएको छ’ उनले जनाए ।

कक्षा १० मा अध्ययनरत निश्चा शर्माले आफुले यसलाई अवसरको रुपमा लिएको बताइन् । नेपालका धेरै परिवारको कहानीसँग मिल्ने भएकोले यो नाटक हेर्नुपर्नेमा उनको जोड छ । भविष्यमा गएर देशलाई सकारात्मक दिशामा लैजान सक्ने लिडर बन्ने सपना बोकेकी उनलाई कलाकारिता क्षेत्रमा झुकाब छ ।

कक्षा १० मा अध्ययनरत सौरभ कार्की यो नाटकमा मदनको भुमिकामा देखिदैछन् । विगतमा स्कुल तथा अन्य ठाउँमा नाटक खेलेको अनुभव भएपनि थिएटरमा पहिलोपटक अभिनय गर्न पाउँदा उनी उत्साहित बनेका छन् । भविष्यमा नेता बन्ने बताउने उनी यो नाटक मञ्चनसँगै नयाँ अनुभव थपिने बताउँछन् । लाइट, म्युजिक र अभिनयको संयोजनले नाटकलाई सुन्दर बनाउने विश्वास उनको छ ।  मुनाको भुमिकामा अभिनय गर्न लागेकी १० कक्षामा अध्ययनरत सञ्चिता थापा स्कुलमा नाटकमा अभिनय गर्ने गरेको भएपनि स्कुल बाहिर पहिलोपटक अभिनय गर्न लागेको बताउँछिन् । भविष्यमा कलाकार बन्ने लक्ष्य राखेकी उनमा आफ्नो भुमिकामा न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

डायमण्ड माध्यामिक विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले साहित्य तथा कला क्षेत्रमा विद्यार्थीको रुचि बढाउन विद्यालयले कार्यक्रम गर्दै आएको बताउँछन् । ‘हामीले हरेक वर्ष स्कुलमा एउटा–एउटा नाटक देखाउने भएकोले विद्यार्थीमा नाटक प्रति रुचि छ, यसपाली उनीहरुले थिएटरमा पहिलोपटक अभिनय गर्दैछन्, यो उनीहरुको लागि नयाँ अनुभवपनि हो’ उनले भने ।  नाटक भित्रको विषयवस्तुलाई आत्मसाथ गरेर कसरी दर्शकमाझ उनीहरु प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी रहेको उनले बताए । नाटक कलाको विशेष विधा भएको र विद्यार्थीमा साहित्यप्रति रुचि होला, यसको बारेमा जानकारी पाउलान्, रुचि भएकाले करियर समेत बनाउनेछन् भन्ने अपेक्षा आफुहरुले गरेको उनले बताए ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले पोखरामा आयोजना गरेको महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ मा यो नाटक मञ्चन हुन लागेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । माघ ६ देखि १४ गतेसम्म आयोजना हुने महोत्सव नौ दिनको हुनेछ । महोत्सवमा कुल नौ वटा नाटक मञ्चन हुनेछ जसको तयारी तिव्रताका साथ अगाडी बढीरहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button