सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

विमलबहादुर विष्ट– २६, पुष । डोटीसहित अन्य पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका छन् । तिनै सेताम्मे डाँडा हेर्नकै लागि भए पनि यहाँ दैनिक पर्यटकहरु भित्रिन थालेका छन् ।

हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । जिल्लाको भिग्राना, खप्तड नजिकका डाँडाकाँडालगायत भीमदत्त राजमार्गको साहुँखर्क, गैरा, हगुल्टेलगायतका ठाउँहरुमा दैनिक सयौं  भारतीय तथा आन्तरिक पर्यटकहरु आएर अवलोकन गर्ने तथा हिउँमा रमाइलो गर्न थालेको स्थानीयवासी बताउँछन् ।

हिमपातसँगै डोटीलगायत यहाँका अन्य हिमाली तथा पहाडी जिल्लाका डाँडाकाँडाहरु सेताम्मेसहित मनमोहक भएपछि यहाँका विभिन्न ठाउँहरु आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, “पर्यटक भित्र्याउनमा हिमपातले ठूलो मद्दत गरेको छ, हिउँ हेर्न र रमाइलो गर्नकै लागि सयौँ पर्यटक आउन थालेका छन् ।”

त्यस्तै जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरु पनि नेपाल भ्रमण वर्ष २०२० मनाउन आउने पर्यटकहरुको पखाइमा रहेका छन् । भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत तथा सत्कारका लागि यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय तहहरु बाटो कुरेर बसेका छन् । भ्रमण वर्ष २०२० का लागि डोटी जिल्लाका विभिन्न स्थललाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड, ऐतिहासिक सांस्कृतिक महत्व बोकेको डोटीको जिल्ला सदरमुकाम सिलगढीस्थित शैलेश्वरी मन्दिर, दिपायलमा रहेको डोटेली राजाको दरबार, बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार मन्दिर, जोरायल गाउँपालिका–५ मा रहेको निरौली दरबार तथा छतिवनमा रहेको छतिवन ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समिति डोटीले जनाएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिनुभयो । भ्रमण वर्ष २०२० भित्र करिब चार लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताइन । उनले भनिन, “भ्रमण वर्षमा हामीले ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने योजना बनाएका छौँ, पर्यटक भित्र्याउने विभिन्न गतिविधिलाई अघि बढाएका छौँ ।”

पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत स्थलहरुमा अहिले दैनिक सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवासुविधाहरुको व्यवस्थासमेत मिलाउन थालिएको जिल्ला समन्वय समितिका संयोजक ऐरको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन डोटीका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा चिनाउने गरी प्रचारप्रसारलाई तीव्रता दिइएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

उनले भने, “हाम्रो ठाउँमा पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरु व्यापक रहेकाले त्यसको प्रचारप्रसारसँगै पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरुसमेत बनाएको छौँ, आशा छ पर्यटक पनि सोचेअनुसार आउनेछन् ।” पर्यटकका लागि होटलहरुमा उचित बाससँगै खप्तड क्षेत्रसँगै जोडिएको झिग्रानामा घरवास ‘होमस्टे’ समेत निर्माण गरिएको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए ।

भ्रमण वर्षमा दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानदेखि दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा ( र्याफ्टिङ) को आयोजना गर्ने भएको छ । भ्रमण वर्षमा आएका पाहुनाहरुलाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको शुरुआत गरेको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास तथा व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जानकारी दिए।

उनले भने, “भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौँ, सुविधाका लागि सम्पूर्ण तयारी गरेका छौँ ।” पर्यटक आकर्षित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडिकेदार मन्दिर रहेका छन् भने यहाँको कलासंस्कृतिमा हुड्के, छलिया, भुवाँ नाच, डेउडालगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिए । उनले भने, “हामीसँग असङ्ख्य कला संस्कृति छ, हामीले ती क्षेत्रको मात्रै प्रचारप्रसार गर्न सके पर्यटक जति नि भित्र्याउन सक्छौँ ।”

बडिकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेकोसमेत पुजारी भट्ट बताउछन । प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै ठोस कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौँ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button