जनताको अपेक्षा अनुसार संघीय सासन व्यवस्थाले काम गर्न सकेन : मुख्यमन्त्री गुरुङ

दीननाथ बराल, पोखरा न्यूज – २६, पुष ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले देश संघीयता गए पनि अझै संघीय मर्म अनुसारको सासन व्यवस्था लागु हुन नसकेको बताएका छन्। पोखरामा शनिबार आयोजना भएको कानूनी पत्रकारीता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले देशमा संघीयता लागु भए पनि संघीय मर्म र भावना अनुसार अझै पनि व्यवस्था लागु हुन नसकेको बताएका हुन्।

जनताले अपेक्षा गरे अनुसार हाल संघीय सासन व्यवस्थाले  काम गर्न नसकेको उनको भनाइ थियो । मुख्यमन्त्री गुरुङले भने “ संघीय व्यवस्था अनुसार सबै वर्ग तथा समुदायलाई समान अवसर प्रदान गर्नुपर्छ तर अझै पनि महिला र पुरुषको हकमा पनि भाले वासिरहेको छ, स्थानिय निकायका प्रमुखमा अधिकांश पदमा पुरुष रहेकाछन, एकादुइ ठाउँमा महिला प्रमुख भएका छन्। ” समान अवसरका लागि समान अवस्था सिर्जना गर्नुपर्ने उनको जोड थियो ।

उनले प्रति प्रश्न गर्दै भने “एउटा बोर्डिङ स्कुलमा पढेको विद्यार्थी र अर्को सामुदायिक विद्यालयमा पढेको विद्यार्थीको शैक्षिक स्तर एउटै हुन्छ, समान अवसर प्रदान गर्नको समान अवस्था सृजना गर्नुपर्छ, शिक्षामा सबैलाई समान अधिकार छ । ” परिवर्तित समाज अनुसार पत्रकार समेत परिवर्तन हुन नसकेको मुख्यमन्त्री गुरुङले आरोप लगाए । देशमा असमानताले गर्दा द्वन्द्व निम्तिने बताउदै उनले इथोपिया सहितका केही देशमा पनि असमानताले गर्दा द्वन्द्व निम्तिएको जनाए ।

गण्डकी प्रदेशका संघीय मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पत्रकार अन्य पदीय दायित्व भन्दा अझ बढी जिम्मेवार र कानुन पालक हुनुपर्ने बताए । समाजका हरेक व्यत्ति माथि प्रश्न गर्ने पत्रकार आफु पहिला कानुनको जागरुक र पालना गरेको हुनुपर्ने उनले जनाए । उच्च अदालत पोखराका न्यायधिश प्रमोद कुमार श्रेष्ठ बैद्यले कसैको मान हानी नहुने गरी सत्य तथ्यका आधारमा समाजलाई सचेत गराउने गरी पत्रकारिता गर्न आवश्यक भएको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले कानूनी पत्रकारिता कमै हुने हुँदा यस्तो प्रकारको तालिम आवश्यक भएको बताए । मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । संसदीय पत्रकार मञ्च, गण्डकीको संयोजनमा मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा उक्त कार्यक्रम गरिएको मञ्चका अध्यक्ष लाल प्रसाद शर्माले बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले संसदीय रिपोर्टिङ, सिद्धान्त र व्यवहार सम्बन्धि, अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरि बहादुर थापाले संसदीय अभ्यास, कानून, निर्माण प्रक्रिया, कास्की जिल्ला अदालतका न्यायाधिश तेजेन्द्र प्रसाद सापकोटाले अदालत र पत्रकारिता बिषयमा र कास्कीका प्रहरी उपरिक्षक एसपी दानबहादुर कार्कीले सुरक्षा र पत्रकारिता सम्बन्धि बिषयमा कार्यपत्र सहित सहजीकरण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button