पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पटक-पटक जग्गा अधिग्रहण गर्नु अदुरदर्शीताको उपज

दीननाथ बराल, पोखरा न्यूज – २७, पुष । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि थप १ सय ४८ रोपनी जग्गा अधिग्रहण गर्दा चलनचल्ती अनुसार स्थानीयलाई चित्त बुझ्ने गरी मुआब्जा दिन नेकपा, नेपाली काँग्रेस सहितका पार्टी एवं सांसदहरुले आफुहरु एक भएको बताएका छन् ।

पोखरा विमानस्थल निर्माणको लागि पटक पटक जग्गा अधिग्रहण गर्नु सरकार, कर्मचारी, प्राविधिकहरुको अदुरदर्शीताको कारण पोखरेली जनताले पटक पटक दुःख र सास्ती भोग्नु परेको उल्लेख गर्दै विभिन्न पार्टीका नेता तथा सांसद एवं विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले स्थानीयलाई हाल चलनचल्ती अनुसारको मुआब्जा उपलब्ध गराउन आफुहरु उनीहरुको साथमा हुने बताएका हुन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिले आइतबार पोखरामा आयोजना गरेको बृहत ऐक्यबद्धता सभामा वोल्दै नेकपा, काँग्रेस, समाजवादी पार्टीका सांसद एवं पार्टीका नेताहरुले थप जग्गा अधिग्रहण गर्दा स्थानीयहरु विस्थापित नै हुने अवस्था भएकोले गर्दा उनीहरुलाई चलनचल्ति अनुसारको मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।

संघिय सांसद खगराज अधिकारीले कार्यक्रममा बोल्दै भैरहवामा विमानस्थल निर्माण हुदा त्यहाँ धेरै नै मुआब्जा पाएको कुरा उल्लेख गर्दै पोखरामा मुआब्जा वितरणमा समानता हुनु पर्ने बताए । राष्ट्रिय गौरवको योजना विना डिपिआर काम अघि बढ्दा पटक पटक जग्गा अधिग्रहणले गर्दा स्थानीय त्रसित हुनु परेको उनले जनाए । सांसद अधिकारीले भने “स्थानीयहरुको जग्गा अधिग्रहण गर्दा उनीहरुलाई सरकारले चित्त बुझाएर चलनचल्ती अनुसारको मुआब्जा दिनु पर्छ, यस बिषयमा मैले संघिय संसदमा समेत आवाज उठाउने छु, यस बिषयमा मन्त्रीसँग समेत कुरा गरेकोे छु, टुंगोमा नपुगेसम्म कुराकानी जारी राख्ने छु । ”

देशको बजेटले भ्याउने, कानुन र संविधानले दिन मिल्ने र न्यायोचित कुरामा निरन्तर स्थानीयको साथमा हुने सांसद अधिकारीले प्रतिवद्धत्ता व्यक्त गरे । अधिग्रहण गर्ने विषयमा सरकारले बारम्वार आक्रमणमा परे पछि मृत जस्तो हुने हुदा सरकारले यस्तो गर्न नहुने उनले धारणा राखे । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक) ले सामुहिक रुपमा पहल गरी स्थानीयको माग पुरा गर्न आफुहरु कटिबद्ध रहेको जनाए । केही व्यक्तिहरुको घर जग्गा पर्ने भनेको समग्र पोखरेलीलाई यसले प्रभाव पार्ने भएकोले यस्ता मुद्धामा आफुहरु समेत सँगै भएको उनले जनाए ।

अर्को सांसद बिन्दुकुमार थापाले आफु घर जग्गामा समेत काम गर्ने बताउदै हाल पोखरा विमानस्थलमा अधिग्रहण गर्न लागिएको जग्गाको मुल्य करिब २ देखि साढे दुई करोड प्रति रोपनी चलेको बताएका थिए । प्रतिउत्तरमा स्थानीयले भने प्रति रोपनी ४ देखि ६ करोडसम्म पर्ने गरेको दाबी गरे । प्रदेश सांसद मनबहादुर गुरुङले घरै विस्थापित भएकाहरुको लागि सरकारी मुल्यले मुआब्जा दिदा न्यायोचित नहुने बताए । स्थानीयको माग पुरा गर्न आफुहरु सधै साथमा रहने उनले जनाए ।

गण्डकी प्रदेशका सांसद हरीशरण आचार्यले मुआब्जाको कारणले गर्दा बुढी गण्डकी आयोजना प्रभावित हुने खतरामा रहेको उल्लेख गर्दै स्थानीय सबैको भावना बुझेर पोखरा विमानस्थलको जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा उपलब्ध गराउनु पर्ने अन्यथा रगत बगाउनु परे पनि आफुहरु स्थानीयसंगै रहेको उल्लेख गरे । समाजबादी पार्टी गोर्खाका सांसद आचार्यले मुआब्जाको बिषयमा ओठे जवाफमा ऐक्यबद्धता मात्र नभई आफुहरु जस्तो सुकै आन्दोलनमा होमिन तयार रहेको उल्लेख गरे ।

नेकपा कास्कीका इन्चार्ज राजकाजी गुरुङ(करण)ले ३१ सय लम्वाईको रन वे निर्माणको माग हुदा २५ सयमा झारिएको गुनासो गरे । २६ अर्बको प्रोजेक्टले ३१ सयका रन वे निर्माण हुने तयारी गरिए पनि प्रतिसोचका कारण योजना घटाइएको उनको आरोप छ । प्राविधिकको अनभिज्ञता वा बढी बुझेर जनतालाई दुखः दिने गरी पटक पटक मुआब्जा अधिग्रहण गर्नु निकै दुःख लाग्दो कुरा भएको बताए ।

नेपाली काँग्रेस कास्कीका सभापति कृृष्ण केसीले पोखरा विमानस्थल निर्माण गर्दा आवश्यक पर्ने जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने त्यसको लागि आफ्नो पार्टीको तर्फबाट तत्काल कुनै पनि सेतो कागजमै दस्तखत गर्न समेत तयार रहेको जनाए । पोखरा विमानस्थलको कारण केहीलाई आफ्नो बिस्तारा माथि झुण्डाएको जाँतो जस्तो मानसिक त्रास खेप्नु परेको उनले जनाए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब पोखरा विमाननस्थलको जग्गा अधिग्रहण सहितको अन्य मुद्धामा टुंगाउने गरी जानुपर्ने धारणा व्यक्त गरे । उनले भने “ अब पोखरा विमानस्थलको सवै कुरा टुंगाउने र टोल्ने तरिकाले अघि बढ्नु पर्छ, २०२७ साल देखि पटकपटक जग्गा अधिग्रहण गर्ने उचित निर्णय भएको छैन, अब यसलाई निष्कर्षमा पुर्याउन एउटा कमिटि गठन गरौं त्यसको नेतृत्व लिन पर्छ भने महानगर तयार छ अन्य भएमा पनि महानगरले पुरा सहयोग गर्छ । ”

नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकार र नागरिक उड्डयन प्राधिकरणका कर्मचारीका कारण पोखरा विमानस्थलमा पटक पटक जग्गा अधिग्रहणको समस्या आएको दाबी गरे । उनले भने “ पोखरामा विमानस्थल निर्माण हुन नदिने योजनामा रहेको अबस्थामा पोखरा विमानस्थलको काम द्रुत गतिमा अघि बढेसंगै पटक पटक समस्या उत्पन्न गरी यो योजना प्रभावित पार्न खोजिएको छ, पहिला पोखरा विमानस्थलको डिपिआर चाहियो कति जग्गा के र कुन प्रयोजनको लागि हो त्यसको बारेमा जनतालाई जानकारी गराएर उनीहरुलाई उचित मुल्य सहित चित्त बुझाएर मात्र अधिग्रहण गर्नु पर्छ ।” पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोखरेलले पोखराको आर्थिक विकाससंग जोपिडएको मुद्धा पोखरा विमानस्थल निर्माणलाई अबरोध नहुने गरी सरकारले स्थानियलाई चित्त बुझाएर मात्र अधिग्रहण गर्नुपर्ने आफुहरुको समेत धारणा रहेको उल्लेख गरे । स्थानिय रोमबहादुर भण्डारीले एक रोपनी जग्गा लिदा सरकारले अन्य ठाउँमा दुई रोपनी जग्गाको मुल्य दिनुपर्ने माग गरे ।

राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा पटक पटक राज्यले आफुहरुलाई विस्थापित र घरवार विहिन हुने अबस्थामा पुर्याएकोले आफुहरुलाई चलनचल्तीको मुआब्जा सहित नागरिक उडड्यन कार्यलयले गरेकोे सम्झौता अनुसारको काम नगरे आफुहरुले कुनै हालतमा जग्गा उपलब्ध गराउन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिका अध्यक्ष गनेश पौडेलले बताए । समितिले मुआब्जा वितरण गर्न बाँकी रहेका ७ परिवारको १५ रोपनी जग्गाको नयाँ मुल्याङकन सहितको मुआब्जा अविलम्ब उपलब्ध गराइयोस, घरको मुआब्जा दिँदा क्षतिपुर्ति सहित आवासको सट्टा उस्तै घर निर्माण गरियोस, जग्गा दातासँग गरिएको रोजगारीको ग्यारेन्टीको सम्झौता निर्माण चरणबाटै कार्यान्वयन गर्न माग गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button