चन्द्रमा लैजान जीवनसाथी खोज्दै जापानी अर्बपति

पोखरा न्यूज – २८, पुष । एक जापानी अर्बपतिले सँगै चन्द्रमा जाने जीवनसाथी खोज्दै ट्विटरमा सार्वजनिक अपिल गरेका छन् ।

युसाकु माइजावा नाम गरेका ती ४४ वर्षीय अर्बपतिले बिहीबार ट्विटरमा एक ट्विट गर्दै आफ्नो यस्तो आशय सार्वजनिक गरेका हुन् । उनले ट्विटमा लेखेका छन् ,” म जीवनसाथी खोज्न चाहन्छु । मेरो भविष्यको साथीसँगै म बाहिरी अन्तरीक्षबाट प्रेम र विश्व शान्तिको आह्वान गर्न चाहन्छु ।” फोर्ब्सका अनुसार २ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक युसाकुको जापानमा जोजोटाउन नामक अनलाइन सपिङ साइट रहेको छ ।

युसाकुले आफ्नो हुनेवाला जीवनसाथी २० वर्ष कटेको, सकारात्मक, अन्तरीक्ष यात्रामा रुचि भएको र विश्व शान्तिको चाह राख्ने हुनुपर्ने बताएका छन् । त्यस्तै आवेदन दिँदा आफ्नो उचाई, जागीर, रुचि, विशेष कौशलजस्ता विवरण र फोटो पनि साथै समावेश गर्नु पर्नेछ । यसरी भरिएका आवेदनबाट सुहाउँदो जोडी छान्ने प्रक्रियालाई “फुल मुन लभर्स” नामक डकुमेन्ट्री मार्फत प्रस्तुत गरिने पनि जनाइएको छ ।

आवेदनका लागि जनवरी १७ सम्म म्याद राखिएको छ भने अन्तरीक्ष उडान सन् २०२३ मा हुने अपेक्षा गरिएको छ । अन्तरीक्ष उडानको अर्का विख्यात धनाढ्य एलोन मस्कको स्पेस एक्स परियोजना अन्तर्गत हुनेछ । टेस्ला कम्पनीका मालिक मस्कले २०२३ मा अन्तरीक्षमा पर्यटक लैजाने घोषणा सन् २०१८ मा गरेका थिए ।

युसाकुले यस भन्दा अघि पनि यस्तै उरन्ठेउला कामहरु ट्विटरमा गर्दै आएका छन् । उनले २०२० को नयाँ वर्षको उपलक्ष्यमा आफ्ना ट्विटरका १००० फलोअर्सलाई ९० लाख डलर बाँड्ने घोषणा गरेका थिए । जनवरी ७ अघि उक्त ट्विट रिट्विट गर्नेहरुको गोलाप्रथा मार्फत त्यसको नतिजा छिटै सार्वजनिक गरिने बताइएको छ । उनले २०१९ मा पनि १ सय ट्विटर फलोवरलाई १ सय मिलियन येन बाँडेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button