पिपिपी आयोजना बारे पोखरा महानगरले गर्यो सांसदसँग छलफल

पोखरा न्यूज – २९ , पुष ।  पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ ।

सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास आयोजना, पातलेछाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजना र सराङकोट पर्यटन पूर्वाधार विकास आयोजना बारेमा मंगलबार छलफल गरेको हो । पोखरा महानगरका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरुले महानगरले ल्याएका योजनाहरुहरुलाई कायान्वयन तहमा लैजानुपर्ने बताउँदै पिपिपी मोडेलमा योजना बनाउँदा सार्वजनकि हितलाई केन्द्रमा राखेर बनाउन सुझाव दिएका थिए ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै पिपिपी आयोजनालाई अगाडि बढाउनु पर्ने बताए । ‘महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतालाई अझ प्रवर्द्धन गर्दछ,’ उनले भने,‘ आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल हुन आवश्यक छ, महानगरले सरोकारवालाहरुसँग छलफल गरेर काम अगाडि बढाउँदा राम्रो हुन्छ ।’ कास्की क्षेत्र नम्बर ३ का सांसद समेत रहेका विकले हरेक सम्भवनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिनुपर्ने बताए ।

कास्की क्षेत्र नम्बर १ का सांसद तथा पूर्व मन्त्री खगराज अधिकारीले सेती खोंचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माण गर्दा शवदहस्थल र रामघाटबाट नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्नुपर्ने बताए । उनले महानगरले ल्याएका योजनालाई सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गण्डकी प्रदेश सांसद तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँहरु भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने बताए । उनले लेखनाथका तालहरुलाई समेटेर योजना बनाउँदा थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने बताए । प्रदेश सांसद मनबहादुर गुरुङले रामघाटलाई तालको रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्ने बताए । योजना ल्याएपछि त्यसलाई कार्यान्वयन हुने गरी ल्याउनु पर्ने उनको भनाइ छ ।

प्रदेश सांसद विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताए । उनले सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदुषित हुनबाट जोगाउनुपर्ने बताए । प्रदेश सांसद रामजी बराल जीवनले आन्तरिक पुँजीलाई सहि रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने बताए । उनले सेतीबाट नदीजन्य पदार्थ उत्खनन्लाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

प्रदेश सांसद राजीव पहारीले मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर भएर काम गर्नुपर्ने बताए । उनले अबको विकासको मोडेल नै पिपिपी भएकाले महानगरले ल्याएको आयोजनालाई सम्पन्न गर्न संघ र प्रदेशले पनि सक्दो सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदी, पुष्पा केसी भण्डारीले पनि महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक पर्नेमा जोड दिएका थिए ।

महानगरका प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडेलमा अगाडि बढाएको बताए । उनले योजनालाई सम्पन्न गर्न संघ र प्रदेशको पनि साथ र सहयोग आवश्यक पर्ने बताए । पूर्वाधार र विकासको काम गर्दा सम्बन्धित क्षेत्रका संघीय सांसदको नेतृत्वमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिसहितको टिम बनाएर काम गर्दा विकासले गति लिने र योजना डुब्लिकेसनको समस्या पनि नहुने हुनाले टिम बनाउन जिसीले प्रस्ताव गरेका थिए ।

कार्यक्रममा सार्वजनिक निजी साझेदारी कार्यक्रमका सहजकर्ता अनन्तप्रसाद कोइरालाले ३ वटा आयोजनाको बारेमा प्रस्तुति राखेका थिए भने कार्यक्रमको सञ्चलन महानगरका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले गरेका थिए । कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, सार्वजनिक निजी साझेदारी कार्यक्रमका सदस्य एव महानगरका वरिष्ठ इन्जिनियर शारदमोहन काफ्लेको पनि सहभागिता थियो ।

सेती खोंच विकास आयोजनाको प्रस्तावित लगानी १ अर्ब ५८ करोड, पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा ४९ करोड १९ लाख, सराङकोट पर्यटन पूर्वाधार विकास आयोजनाको प्रस्तावित लगानी १४ करोड ७४ लाख रहेको सहजकर्ता कोइरालाले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button