ढुङ्गेसाघुको मेलामा कन्दमुल अवलोकन गर्नेको भिड

दीननाथ बराल, पोखरा न्यूज -०१,  माघ।  माघे संक्रान्तिको अवसरमा बुधबार ढुङ्गेसाघुको मेलामा कन्दमुल अवलोकन गर्नेहरुको भिड लाग्यो । सिद्धेश्वर हरीहर मन्दिर अन्तर्गत कन्दमुल प्रबर्द्धन उपसमितिको आयोजनामा ढुंगेसाँघु क्षेत्रमा बुधबार कन्दमुल प्रदर्शनी भएसँगै कन्दमुल अवलोकन गर्नेहरुको दिन भरी नै भिड भएको कार्यक्रम संयोजक शंकर आचार्यले बताए ।

गत वर्ष देखि सुरु गरिएको कन्दमुल प्रदर्शनी यस वर्ष उल्लेखनीय रुपमा धेरै मानिसहरुले निकै चासो दिदै अवलोकन गर्ने गरेको उनले बताए । कन्दमुलको महत्व बुझाउन र यसको प्रबर्द्धन गर्न पनि माघे संक्रान्तिको अवसरमा ढुंगेसाँघेमा बुधबार गरिएको एक दिने कन्दमुल प्रदर्शनीमा करिब १० हजार भन्दा बढीले अवलोकन गरेको संयोजक आचार्यले दाबी गरे । उनका अनुसार पछिल्लो समयमा कन्दमुल धेरै व्यक्त्तिहरुले खान समेत छाडेकोले धेरै प्रकारका पौष्टिक तत्व पाइने यस्ता कन्दमुलको प्रयोग बढाउन र यसको स्वदेशमा खेती गर्न हौसला स्वरूप उक्त कार्यक्रम गरिएको उनले जनाए ।

संयोजक आचार्यका अनुसार माघे संक्रान्तिको अवसरमा करिब १० हजार भन्दा बढीले प्रत्यक्ष रुपमा उक्त कन्दमुलको अवलोकन गरेका छन् । कन्दमुल अन्तर्गत पिडालु, तरुल, सकरखण्ड, सहितका गिठ्ठा भ्याकुर समेत गरी करिब ५० भन्दा बढी जातका कन्दमुल प्रर्दशनीमा राखिएको उनले जनाए ।

सिद्धेश्वर हरीहर मन्दिर अन्तर्गत कन्दमुल प्रबर्द्धन उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रमसंगै कन्दमुल प्रतियोगितामा पोखराका टुकाराम लामिछाने उत्कृष्ट कृषक घोषित भएका छन् । ७ जना प्रतियोगिहरु मध्य उनले राम्रो कन्दमुल उत्पादन गरेकोले उनले प्रतियोगितामा प्रथम हुदै नगद १० हजार पुरस्कार प्राप्त गर्न सफल भए । त्यसै गरी पोखरा १७ महतगौडकी सावित्री भण्डारी दोश्रो हुदै ५ हजार, पोखराका गणेश पराजुली तेश्रो हुदै ३ हजार र महतगौडाकै सुर्यकला गुरुङ र चाउथेका नवराज अधिकारीले सान्त्वना स्थान हासिल गर्दै जनहि एक-एक हजार पुरस्कार प्राप्त गरेका छन् ।

 

त्यसै गरी उक्त कार्यक्रममा वागमती अनुसन्धान केन्द्र मालेपाटन पोखराले १४ जातका पिडालु, ५ जातका तरुल सहितका २२ जातको कन्दमुल प्रदर्शन गरिएको केन्द्रका टपेन्द्र शाहले बताए । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका कृषि अर्थ विज्ञ इन्द्रमणि लामिछानेको संयोजकत्वमा गठन भएको पुरस्कार छनौट समितिले दिएको सिफारिसको आधारमा कृषकहरु पुरस्कृत भएका हुन्।

पछिल्लो बर्षमा कन्दमुलको महत्व नयाँ पुस्तालाई बुझाउनु पर्ने भएकोले यस्तो प्रतियोगिता आवश्यक भएको उनले जनाए । तनहुँ जाँते, कल्छे, सर्लाही रातो, सर्लाही सेतो, तनहुँ ठुलो लगायतका तरुल प्रर्दशनीमा राखिएको थियो । सांस्कृतिक वाली भएकोले मेला पर्वको अवसरमा कन्दमुल खाने गरेको परम्परागत देखि चलि आएको पाइन्छ ।

माघे संक्रान्तिको अवसरमा पोखराको ढुगेसाँघुमा दर्शनार्थीको भिड् लागेको थियो । माघे संक्रान्ति माघे जात्राको रुपमा हाट बजारको रुपमा ढुंगेसाँघु क्षेत्रमा हस्तकला देखि लत्ताकपडा, दैनिक उपभोग्य बस्तुहरुको बिक्रि वितरण भएको थियो । सेती नदीमा स्नान गरी हाट बजारमा किनमेल गर्नेहरुको विहानै देखि भिड लागेको थियो ।

गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिएको थियो । माघे संक्रान्ति विशेष गरी मगर समुदायको मुख्य पर्वको रुपमा लिइन्छ । ढुंगेसाँघु क्षेत्रमा मानिसहरुको बिहान देखि बेलुकासम्म अत्याधिक भिड भएको ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ढुंगेसाँघु मेलाको अवसरमा कराँते प्रतियोगिता समेत संचालन भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button