मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुने

पोखरा न्यूज -०२, माघ । पाँचौ संस्करणको मिस तामाङ पोखरा शनिबार हुने भएको छ । पोखरा सभागृहमा मध्यान्ह १२ बजे बाट शुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरि जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ ४ गते पोखरा सभागृहमा हुने बताएका हुन् ।

मञ्जुश्री संवत २८५६ को अवसरमा आयोजना गर्न लागिएको यो ल्होसार म्युजिक फेस्टिभल को यो सातौ संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ हुन लागेको हो । प्रतियोगितमा १७ जना प्रतियोगीहरुले सहभागिता जनाउदै छन् । सहभागीहरुमा अनिशा तामाङ, सरस्वती तामाङ, सृजना तामाङ, सुजाता तामाङ, कोमल तामाङ, आकृति भोलान, स्वस्तिका तामाङ, बिन्दु तामाङ, मनिषा गोम्जा तामाङ, रहेका छन् । यसैगरि शशीकला तामाङ, प्रिती तामाङ, रेनु तामाङ, सृजना तामाङ, अनु बल, भुमिका तामाङ, सुमिक्षा तामाङ, सलिना तामाङ र किस्मत तामाङ रहेका छन् ।

सहभागीहरुलाई ४५ दिन लामो व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ । आधुनिकताको नाममा शहरिया युवा पुस्ता माझ बढ्दो साँस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि यो कार्यक्रमले टेवा पुग्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए । युवा पुस्तामाझ तामाङ संस्कृति हस्तान्तरण र जानकारी आजको अपरिहार्य आवश्यकता रहेकोले नै कार्यक्रमको आयोजना गरिएको प्रतियोगिता संयोजक कविता योञ्जनले बताए । ‘यो विशुद्ध साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो । अन्य सौन्दर्य प्रतियोगिता भन्दा यो भिन्न रहेको छ । रुपमा सौन्दर्य प्रतियोगिता जस्तो देखिएता पनि गहिराइमा हामीले यो भाषा, संस्कृति र संस्कारलाई युवा पुस्तामाझ परिचय गराउनकै लागि कार्यक्रमको आयोजना गरेका हौं ।’ योञ्जनले भनिन् ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद, म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।  सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।

नारीलाई निकै महत्वपूर्ण स्थान दिने तामाङ जातीको छोरी चेलीहरुको व्यक्तित्व र नेतृत्व विकास गरि उनिहरुको प्रतिभालाई प्रस्फुटन गर्न हरेक वर्षझैँ यो वर्ष पनि बैदाम तामाङ सेवा समाजले विभिन्न सांस्कृतिक कार्यक्रमको साथमा ५ औँ मिस तामाङ पोखरा २०२० आयोजना गर्न लागेको हो । कार्यक्रमको मुल संयोजकमा पुर्व मिस तामाङ पोखरा कविता योञ्जन, सह संयोजक निमा लामा रहेका छन् । कार्यक्रमको प्रमुख निर्णायकमा कलाकार तथा नेपाल एयरलायन्सका क्याप्टेन विजय लामा रहनेछन् भने चर्चित कलाकार सोनाम तोप्डेनको प्रस्तुती रहने छ । कार्यक्रमबाट बचत रकम रिन्छिङ तोजेर्त तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button