चिनियाँ शहर ‘हारबिन’ मा हिउँको रमाइलो …

राजु शाक्य-०३, माघ । संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र आँट गरी पुग्नोस् । यहाँ तपाईले बरफका संरचना र हिउँमा कुँदिएका कलाकारिताको अद्भूत नमूना देख्न पाउनु हुन्छ । स्की खेल मज्जासँग खेल्न सक्नुहुन्छ र सँगसँगै तातोपानीमा स्नान गर्ने अवसर पनि पाउनुहुन्छ । यी सबै कुराको प्रत्यक्ष अनुभव गर्ने उपयुक्त समय डिसेम्बर–जनवरी हो ।

रुससँग सिमाना जोडिएको चीनको सुदूर उत्तरी प्रान्त हो हेलंगजियाङ । यसको राजधानी हारबिन संसारकै सबैभन्दा चिसो शहर मानिन्छ । हेलंग (कालो ड्रागन) नदीको नामबाट यस प्रान्तको नामकरण भएको छ । डिसेम्बर–जनवरीमा थुप्रिने बरफका ढिक्काहरु र हिउँका थुप्रोमा महल बनाएर र आकृतिहरु कुँदेर यहाँ प्रदर्शनमा राखिने गरिन्छ र प्रतियोगिता समेत आयोजना गर्ने गरिन्छ हरेक वर्ष जनवरी महीनाको प्रारम्भतिर ।

सोङहुआ नदीको उत्तरी किनारामा यस वर्ष ३६ औँ हारबिन अन्तर्राष्ट्रिय बरफ तथा हिउँ महोत्सवको जनवरी ५ मा शुभारम्भ गरियो । यस पटकको नारा रहेको छ : आइस स्नो इन्टेग्रेशन, हैप्पी टु गो टुगेदर । यस महोत्सवको विशेषता नै के हो भने झण्डै ६ लाख वर्गमिटर क्षेत्रफलभित्र हिउँका विशाल महल, पदमार्ग, पर्खाल र स्तम्भहरु खडा गरेर प्रदर्शनका लागि राखिन्छ जसभित्र बत्ती जडान गरिएका हुन्छन् । घामको उज्यालोमा भन्दा राति ती संरचनाहरु झिलिमिलि हुन्छन् र जीवन्तताको आभाष दिइरहेका हुन्छन् ।

यी संरचना मार्चसम्म रहन्छ । यो समय स्थानीय बासिन्दाका लागि ठूलो चाड त हो नै हिउँदे छुट्टि मनाउन चाहने विश्वभरकै पर्यटकहरुका लागि मेला पनि हो । हिउँदमा यहाँका ताल र नदीहरु हिउँको रुपमा जमेका हुन्छन् र यसले आगन्तुकहरुलाई अचम्भित पार्छ । यस पटकको महोसत्व उद्घाटन समारोहमा विभिन्न राष्ट्रका विशिष्ट पाहुना तथा महानगरका मेयरहरुको उपस्थिति रह्यो । आयोजक संस्था हारबिन म्युनिसिपल गवर्मेन्टका अनुसार यस पटक मूल कार्यक्रम र ४०० अतिरिक्त गतिविधिसहित महोत्सव आयोजना भइरहेको छ ।

हिउँका थुप्रामा कति ठूलो संरचना वा कला सिर्जना गर्न सकिन्छ होला ? यसको दृष्टान्त तपाईंले पिङफाङ जिल्लाको नं ३ जिङबेइ रोडमा अवस्थित ताइयाङ दाओ टापूमा देख्नु सक्नुहुन्छ । यहाँ बरफमा विशाल कला सिर्जना गरिएका छन् । कतिपय कला र आकृति प्रतियोगीहरुले तयार पारेका भेटिनु हुन्छ । कलाकारहरुको टोलीले हिउँमा कला सिर्जना गर्दै गरेका पनि यहाँ देख्न सकिन्छ ।

याबुली टाकुरामा स्कीको मज्जा

स्की खेल खेल्न चाहनेहरुको भीड हारबिनको याबुली पर्वतमा देख्न सकिन्छ । राजधानी हारबिनबाट ११७ किलोमिटर दक्षिण पूर्वमा पर्ने यो ठाउँ पुग्न द्रुुत गतिको रेल सेवा पनि छ । यहाँ हिउँमा चिप्लेटी खेल्ने वयस्कहरु त छन् नै, सिक्न चाहने थुप्रै किशोरकिशोरीले पनि प्रशिक्षकबाट चिप्लेटी खेल्ने अभ्यास लिइरहेका भेटिन्छन् । स्की खेल खेल्नेहरुलाई केबुल कारले टाकुरासम्म पुर्याइदिन्छ । त्यहाँबाट मोड र घुम्ती हुँदै चिप्लेटी खेल्ने हो । स्की खेलको मज्जा उठाउन चाहने उत्साहीहरुको गजबकै भीडभाड यहाँ देख्न सकिन्छ । यहाँ यस पटक २०२० वल्र्ड प्यारानर्डिक स्कीइङ एशिया कप प्रतियोगिता आयोजना भयो ।

चीनकै सबैभन्दा ठूलो स्की रिसोर्ट यो पर्वतमा रहेको छ र यो चिनियाँ स्की खेल प्रेमीहरुको पहिलो रोजाइको पहाड हो । यद्यपि यहाँ केही रुसी र पूर्वी एशियाली मुलुकका सौखिन खेलाडीहरु पनि आइरहेका हुन्छन् । यहाँ खटिएका स्वयंसेवक हान पिझेले यूरोपभर थुप्रै स्थानमा स्की खेल खेल्न सकिने राम्रा ठाउँहरु रहेकाले युरोपेलीहरुलाई लक्ष्य गरी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन नगरिएको बताए ।

उनका अनुसार जाडो मौसममा यहाँको न्यूनतम तापक्रम माइनस ४२ डिग्री र अधिकतम माइनस २३.५ डिग्री सेल्सियसका बीचमा रहन्छ । अरु बेला भने एक हजार ३७४ मिटर अग्लो यो पर्वत र वरपरको क्षेत्र रमाइलो वन र उद्यानमा परिणत हुन्छ । यहाँ घुम्न आउनेहरुले स्की खेलका साथै हट स्प्रिङवाटर र वाटर पार्कको आनन्द लिन पाउँछन् ।  यसै क्षेत्रमा बाँसैबासले बनाइएको पाण्डा चिडियाघर रहेको छ । यो ६ हजार ५०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । यहाँ खाएर मस्त सुतेर बसेका एक जोडी पाण्डालाई देख्न सकिन्छ ।

मन लोभ्याउने ‘सेन्ट्रल एभेन्यु’

सेन्टल एभेन्यु एक हजार ४०० मिटर लामो र ११ मिटर चौडा मार्ग हो । हारबिनकै मुख्य व्यापारिक केन्द्र मानिने यो मार्ग सोनहुआ नदी किनारको मेमोरियल टावरबाट शुरु भएर सिन्याङ चौक गएर टुङ्गिन्छ । सेन्ट्रल स्ट्रीट पनि भनिने यहाँका फराकिला बाटा र चौकमा ढुङ्गा बिच्छाइएका छन् र चौबाटोबाट यातायातका साधन गुडिरहेका देख्न सकिन्छ ।

यहाँ पुराना शैलीका भवनहरुलाई संरक्षण गरेर राखिएको छ । रुसी वास्तुशैलीका यी भवनहरु भव्य र लोभलाग्दा छन् । चौक सफा र चिटिक्क परेका छन् । बाटोको मध्य भागमा देखापर्ने एक भूमिगत सार्वजनिक शौचालय कलात्मक छ र यसले यहाँका जनताको स्वच्छताप्रतिको संवेदनशीलता झल्काउँछ । साँझतिर यहाँका चौकमा तात्तातो खाद्यवस्तु चाख्न ठूल्ठूलो स्वरले पैदलयात्रीहरुलाई आमन्त्रण गरिरहेका दृश्य देख्न सकिन्छ । यसै शहरमा ५३ मिटर अग्लो विशाल र भब्य इस्टर अर्थोडक्स गिर्जाघर सेन्ट सोफिया रहेको छ ।

पश्चिमा संस्कृतिको अधिक प्रभाव देखिने यहाँका पसलहरुमा महङ्गा र विलाशी विदेशी सामानहरु पाउन सकिन्छ । विदेशी ब्राण्डका फर, ऊनी कपडा, सुती कपडा, औषधि, गरगहना, भित्ते घडी र नाडी घडी यहाँ पाइन्छ ।

झण्डै चार करोड जनसङ्ख्या रहेको यस प्रान्तमा हेलंगजियाङ विश्वविद्यालय रहेको छ । यहाँका सुइहुआ शहरमा व्यावसायिक र प्राविधिक विषयमा तालीम दिने हारबिन भोकेशनल एण्ड टेक्निकल कलेज छ । बा¥ह हजार भन्दा बढी विद्यार्थीले प्रशिक्षण लिइरहेको यो विशाल केन्द्रमा मेकानिकल एण्ड इलेक्ट्रिकल इन्जिनीयरिङ, कन्स्ट्रक्शन इन्जिनीयरिङ, इलेक्ट्रोनिक एण्ड इन्फर्मेशन इन्जिनीयरिङ, आर्ट एण्ड डिजाइन लगायत नौ विधामा प्रशिक्षण दिने र उच्च स्तरका प्रविधिज्ञ तयार पार्ने काम हुन्छ । अहिले यहाँ जाम्बियाका २६ विद्यार्थी प्रशिक्षण लिइरहेका छन् । प्रशिक्षणपूर्व आधा विद्यार्थीले त्यहीँ चिनियाँ भाषा सिकिरहेका छन् ।

यहाँको प्राक्टिश बेसेस अफ वेल्डिङका प्रवन्धक नाइचाओ लिले आणविक भट्टी (न्यक्लियर प्लान्ट) तयार गर्ने विभागको भावी योजना रहेको बताए । उनका अनुसार उच्च गतिको वेल्डिङमा अनुसन्धानलाई अघि बढाउने र तालीममा विदेशी विद्यार्थीहरुलाई सहभागी गराउने प्रयासमा विभाग लागिपरेको छ ।

कलेजका प्रमुख लिउसेनले यस केन्द्रमा वयस्कहरुले तालीम लिइरहेको देखेर अचम्ममा नपर्न आग्रह गर्दै भने – “हाम्रो कलेजमा तीन प्रकार प्रशिक्षार्थी छन् – बसाइँ सरेर आएका, बेरोजगार र अवकाश प्राप्त सैनिक ।” उनका अनुसार यो केन्द्रले बेरोजगारी समस्या समाधानमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । उच्च शिक्षा अध्ययन गर्न नपाएका जनशक्तिलाई समाज सेवाको फराकिलो क्षेत्रमा काम दिने कलेजको उद्देश्य रहेको पनि उनले बताए ।

अटोमोबिल्स इन्स्पेक्शन एण्ड मेन्टेनेन्स विभागमा प्रशिक्षण लिइरहेका फेङ झेनसेङ हेलंगजियाङकै अवकाश प्राप्त सैनिक हुन् । कुराकानीका क्रममा यस कलेजको प्रशिक्षणबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया उनले दिए ।  एक करोड भन्दा बढी मानिस रहने हारबिन शहरको चर्चा गर्दा छुटाउन नमिल्ने एउटा पक्ष सङ्गीत हो । शहरका कुना कुनाबाट मधुर सङ्गीतको धून बजिरहेको सुन्न पाइन्छ । सङ्गीतका लागि यो नामी शहरले सन् २०१० मा संयुक्त राष्ट्र सङ्घबाट ‘म्युजिक क्यापिटल’ को उपाधि पाएको थियो । यो शहरमा आगामी जुलाई १५–२९ मा चौथौं ‘स्कोनफेल्ड इन्टरनेशनल स्ट्रिङ कम्पिटिशन’ आयोजना हुन गइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button