पोखरामा विद्यालय नाटक महोत्सव हुने, तयारी पुरा

पोखरा न्यूज – ३, माघ । पोखरामा माघ ६ गतेबाट महानगरस्तरिय विद्यालय नाटक महोत्सव हुने भएको छ । माघ १४ गतेसम्म चल्ने ९ दिने नाटक महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी दिएको छ ।

महोत्सवमा कुल ९ नाटक मञ्चन हुनेछ । हरेक दिन एउटा नाटक दूई सो मार्फत मञ्चन हुनेछ । नाटक मञ्चन हुने समय विहान साढे ११ बजे र दिउँसो २ बजे तोकिएको छ । तर उद्घाटन नाटक भने दिउँसो १ बजे एक सो मात्र मञ्चन गरिनेछ । उद्घाटन नाटकको रुपमा माघ ६ गते पोखरा थिएटरको प्रस्तुतीको नाटक ‘कोहि किन बरबाद होस्’ मञ्चन गरिनेछ ।

यसैगरी माघ ७ गते हिल पोइन्ट माध्यामिक विद्यालयको नाटक ऐना, ८ गते प्रतिभा माध्यामिक विद्यालयको नाटक गलबन्दी, ९ गते डायमण्ड माध्यामिक विद्यालयको नाटक मुना मदन, १० गते बाल कल्याण हाई स्कुलको नाटक मेरो बचपनको साथी, ११ गते प्रगती माध्यामिक विद्यालयको नाटक आधा मरेका सन्तानहरु, १२ गते राइजिङ स्टार एकेडेमीको नाटक आह्वान, १३ गते भानुभक्त आवासिय माध्यामिक विद्यालयको नाटक डाँडाखेत र माघ १४ गते महोत्सवको अन्तिम दिन एसओएस हर्मन माइनर स्कुलको नाटक मित्रतामा धोका मञ्चन गरिने महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ नाटक महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा पुगेर नाटक हेर्न सर्वसाधरणका लागि २ सय र विद्यार्थीका लागि १ सयको टिकट लाग्नेछ । छनोट भएका नाटक ३३ मिनेटदेखि १ घण्टा सम्मको अवधिका छन् ।

मञ्चन गरिने सबै नाटक सामाजिक विषयवस्तुमा आधारित नाटक रहेको छनोट समितिका संयोजक प्रकाश घिमिरेले जनाए । छनोट समितिमा घिमिरे सँगै अनुप बराल, प्रमिला तुलाचन, गनेश पौडेल र परिवर्तन सदस्य रहेका थिए ।

महोत्सवकै अवसरका नाटकको बारेमा दर्शक र कलाकारकाबिचमा अन्र्तक्रिया कार्यक्रम गरिनेछ । अन्र्तक्रिया कार्यक्रममा बक्त्ताको रुपमा रंगकर्मी अनुप बराल, प्रकाश घिमिरे, अन्जु दाहाल, नारायण पराजुली, निश्चल विमल, रषिका बसेल, प्रतिक्षा छिनाल, रोशनी केसी, विद्या थापा, सुनील सिग्देल, गनेस पौडेल रहनेछन् ।

बालबालिकालाई असल शिक्षाको साथै उनीहरुको सिर्जनात्मक तथा नेतृत्व क्षमताको विकास हुनु उक्तिकै आवश्यक भएकोले नाटक महोत्सवले सो अवसर प्रदान गर्ने वरिष्ठ कलाकार एवं नाटक छनोट समितिका संयोजक प्रकाश घिमिरेले बताए । यसले नयाँ पुस्तालाई नाट्य क्षेत्रमा आउन आर्कषित मात्र नगरेर उनीहरुमा निखारता थप्न मद्दत समेत पुग्ने घिमिरे बताउँछन् । नाट्य चेतको कमीका कारण समस्या भएपनि अब विस्तारै माहोल बन्दै गएको उनले बताए ।

रंगमञ्चमा पनि बालबालिकाको सहभागिता होस भन्ने उदेश्यका साथ महोत्सवको आयोजना गरिएको र विद्यालय नाटक महोत्सव प्रत्येक वर्ष आयोजना गर्ने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । पछिल्लो क्रममा नयाँ पुस्ताको आगमन थिएटरमा बढ्न थालेको उनको भनाइ छ ।

यसअघि पोखरा थिएटरको आयोजनामा २०७५ फागुन १५ देखि २२ गतेसम्म पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव, २०७४ चैत्र ७ देखि १४ गतेसम्म राष्ट्रिय नाटक महोत्सव आयोजना भएको थियो । पोखरा थिएटरको गन्धर्व नाटकघर पोखरामा सञ्चालनमा आएपछि नियमित रुपमा पोखरामा नाटक मञ्चन हुँदै आएको छ । पोखरा थिएटरको औपचारिक उद्घाटन २०७४ फागुन २ गते भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button