विश्व कीर्तिमानी खगेन्द्रको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

दीननाथ बराल, पोखरा न्यूज – ०४, माघ । होचा व्यक्तिको रुपमा विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको पार्थिव शरीरमा गण्डकी प्रदेश सरकारले नेपालको राष्ट्रिय झाण्डा ओढाएर सम्मान गरेको छ ।

निमोनियाका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा शुक्रबार निधन भएका खगेन्द्रको पार्थिव शरीरमा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् ।  खगेन्द्र थापा मगर प्रति श्रद्धान्जली व्यक्त गर्दै मन्त्री थापाले खगेन्द्रले गरेको कर्मलाई जीवन्त राख्न आवश्यक पर्ने सहयोग गर्ने जनाए ।

खगेन्द्रको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउदै मन्त्री लेख बहादुर थापा

उनले भने “खगेन्द्रले हामीलाई महत्वपूर्ण सन्देश दिदै जानुभएको छ, उहाँको कीर्तिमानले नेपाललाई विश्व सामु चिनाएको छ । ”  खगेन्द्रले पुर्याएको योगदान नेपाली समुदाय, प्रदेश सरकारसहित मगर समुदायहरुको लागि पनि धेरै महत्वपूर्ण भएको मन्त्री मगरले जनाए । प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ आफ्नो कार्य व्यस्तताले गर्दा सहभागी हुन नसकेपछि आफु  सम्मानका लागि सरिक भएको मन्त्री मगरले जनाए ।

त्यसैगरी खगेन्द्रको पार्थिव शरीरमा गण्डकीका प्रदेश सांसद चन्द्रबहादुर बुढा मगर, खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना, कोषाध्यक्ष दामोदर बाँस्तोला, खगेन्द्रका इष्टमित्र, लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि  तथा सर्वसाधारणले फूल माला अर्पण गरेका थिए ।

नेपालको नाम विश्व सामु राख्ने खगेन्द्रको शव यात्रा र दाहसंस्कारमा सरकारी स्तरबाट प्रदेशका एक मन्त्री बाहेक अन्य निकायको सहभागीता नभएको भन्दै कीर्तिमानी व्यक्तिलाई राज्यले उचित सम्मान दिन नसकेको सहभागीले गुनासो गरेका थिए ।

मणिपाल शिक्षण अस्पतालबाट शुरु भएको शव यात्रा पोखराको नगरपरिक्रमा गरी रामघाट स्थित अर्घौ बुद्ध सदनमा अन्तिम दाहसंस्कार गरिएको थियो ।

खगेन्द्रका जेठा बाबा हिरा बहादुर थापाले उनलाई दागबत्ति दिएको प्रतिष्ठानका अध्यक्ष रानाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button