रहस्यमय भाइरल न्युमोनियाबाट संक्रमित हुनेको संख्या ४५ पुग्यो, २ को मृत्यु

पोखरा न्यूज – ०४, माघ ।  चीनको उहान सहरमा फैलिएको रहस्यमय न्युमोनियाबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ । हालसम्म जापान र थाइल्यान्डमा पनि फेला परेको यस नयाँ कोरोना भाइरसबाट सर्ने भाइरलबाट दुई जनाको मृत्यु भइसकेको छ ।

उहानको नगर स्वास्थ्य आयोगका अनुसार संक्रमित ४५ मध्ये दुईको मृत्यु भइसकेको, ५ जनाको अवस्था गम्भीर रहेको, १५ जनाको डिस्चार्ज भइसकेको र अन्यको अवस्था स्थिर रहेको छ । सन् २००२ मा यस्तै प्रकारको नौलो कोरोना भाइरसले फैलाएको सार्स नामक रोगबाट २४ देशमा ८ सय भन्दा बढीको मृत्यु भएको थियो ।

जापान र थाइल्यान्डमा यस नयाँ भाइरसबाट संक्रमित तीन जनाको पहिचान भएको छ । यस सँगै ती देशलगायत एसियाका आधा दर्जन देशले चीनको उहानलगायत मध्य क्षेत्रका सहरबाट आउने सबै यात्रुको स्वास्थ परीक्षण गर्न थालेको छ । अमेरिकाले पनि लस एन्जलस्, सान फ्रान्सिस्को र न्युयोर्क विमानस्थलमा उत्रिने यात्रुको स्क्रिनिङ गर्न थालेको जनाइएको छ ।

यस नयाँ न्युमोनियाबाट संक्रमित हुनेहरुमा ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई जस्ता लक्षण देखिने जनाइएको छ । न्युमोनिया जनावरबाट मानिसमा सरे पनि मानिसबाट मानिस सर्ने नसर्ने अझै पत्ता लागिनसकेको बताइएको छ । जनवरी २५ मा मनाइने चिनियाँ नव वर्षका आसपास फैलिएको यस रोग मानवबाट मानवमा सर्ने भए त्यति बेला व्यापक बन्न सक्ने भन्दै त्यहाँ चिन्ता व्यक्त गरिएको छ ।

नेपालमा पनि चिनियाँ पर्यटक र उद्योगीबाट रोग फैलिन सक्ने भए तापनि विमानस्थल लगायतका क्षेत्रमा खासै सतर्कता अपनाइएको भने छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button