बेपत्ता ७ जनाको उद्धारका लागि गएको टोली नै हिमपहिरोको जोखिममा !

पोखरा न्यूज – ०५, माघ ।अन्नपूर्ण पदमार्गमा बिहीबार र शुक्रबार भएको हिमपात र पहिरोका कारण ७ जना अझै सम्पर्कबिहीन नै छन्। अन्नपूर्ण क्षेत्रमा हराइरहेका  ३ नेपाली र ४ जना कोरियन सहित ७ जनालाई  हालसम्म पनि  फेला पार्न नसकिएको   कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए ।

आइतबार घाम लागेसँगै लगातार हिमपहिरो खस्न थालेपछि उद्धारको लागि पोखराबाट गएको टोली नै समस्यामा परेको छ । पोखराका विभिन्न हेलिकोप्टर कम्पनि, ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखरा लगायतको पहलमा सो क्षेत्रमा पुगेको उद्धार टोली नै हिमपहिरोको जोखिममा परेपछि टोलीलाई पोखरा फर्काउन लागिएको छ । कास्कीको अन्नपूर्ण पदमार्गमा पर्ने देउराली लगायतका ठाउँमा अत्याधिक हिमपहिरोले गर्दा उद्धार कार्यमा थप कठिनाई भएको प्रजिअ केसीले बताए।

सम्पर्कविहिन हुने कोरियन पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको टान पोखराका सचिव जिवनराम सापकोटाले बताए । कोरियनहरु काठमाडौँको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेसक्याम्प तर्फ गएका थिए। त्यसैगरी नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार हालसम्म सम्पर्कविहिन भएको सचिव सापकोटाले पोखरा न्यूजलाई बताए ।

अन्नपूर्ण आधार शिविरमा जार्दै गरेका करिब २ सय जनाको शनिबार  उद्धार गरिएको थियो  । शनिबार विभिन्न ठाउँबाट उद्धार गरी केहीलाई छुम्रुङमा र केहीलाई पोखरासम्म ल्याइएको प्रजिअ केसीले जनाए । शनिबार पोखरामा नेपालसहित ७ देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टर मार्फत ल्याइएको छ । कोरियन २७, चाइनिज १६, नेपालका १०, डेनमार्कका २, सिंगापुरका ५, अष्ट्रेलियाका १, भारतका २ र टियुनेसियाका १ जनालाई पोखरामा विभिन्न हेलिकोप्टर मार्फत ल्याइएको टानले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button