पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुखको कक्षमा तालाबन्दी

पोखरा न्यूज – ५, माघ । पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख डा. चन्द्रबहादुर थापाको कार्यकक्षमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । आंशिक शिक्षकहरुको संघले करार सेवामा नियुक्त गर्न हालसम्म कुनै पनि कदम नचालेको आरोपमा तालाबन्दी गरेको हो ।

गत २९ गतेदेखि आन्दोलनरत संघले आंशिक प्राध्यापकहरुको समस्यालाई समाधान गर्न क्याम्पसले कुनै ठोस कदम नचालेको कारण तालाबन्दी गर्नुपरेको जनाएको छ । यसअघि क्याम्पस सहायक प्रमुखहरुको कार्यकक्षमा तालाबन्दी गरी ज्ञापनपत्र पेश गरेको संघका आंशिक प्राध्यापक संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए ।

क्याम्पस प्रशासनले विगत १४ वर्षदेखि अध्यापनरत प्राध्यापकहरुलाई सामान्य मजदुरको भन्दा कम ज्यालादारीमा काम गराइरहेको छ । क्याम्पसमा कूल कक्षाभारको करिब ७० प्रतिशत अध्यापनमा आंशिकहरुको योगदान छ ।

तालबन्दीको दौरान संघका अध्यक्ष गौतमले स्नातकोत्तर उपाधिप्राप्त जनशक्तिलाई सामान्य मजदुरको जति पनि व्यवहार नगरेको भन्दै आक्रोश पोेखे । उनले भने, ‘अत्यन्त न्यूनस्तरमा क्याम्पसले व्यवहार गर्दा अन्तर्राष्ट्रिय श्रम नियमको खिल्ली उडाएको छ ।’ चरणबद्ध आन्दोलन गरिरहेको संघले माग सुनुवाई नभए क्याम्पस प्रशासनको मूलद्वार र कक्षा बहिष्कार गर्ने जनाएको छ ।

संघका सचिव खिमानन्द पौडेलले आंशिक जनशक्तिले अधिक कक्षाभार लिने र क्याम्पस प्रशासनले उत्कृष्ठ क्याम्पसको सम्मान थाप्ने काम अमिल्दो भएको टिप्पणी गरे । ‘आंशिकहरुलाई दुई छाक टार्नै गाह्रो भएपछि आन्दोलनमा उत्रन बाध्य भयौं, आन्दोलन हाम्रो रहर होइन’ उनले प्रष्ट्याए ।

क्याम्पसमा १४ वर्ष अघिदेखि आंशिक प्राध्यापकहरुको समस्या यथावत छ । हाल २ सय १४ आंशिक प्राध्यापकहरु विभिन्न संकायमा रहेका छन् ।

संघले समस्या समाधानार्थ पहल गरिदिन र आन्दोलनमा ऐक्यवद्धता जनाइदिन विभिन्न प्राध्यापक संघ, स्ववियु सरोकारवाला निकायसँग अपीलसमेत गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button