पोखरामा अवैध होटल निर्माण हुने क्रम रोकिएन

दीननाथ बराल, पोखरा न्यूज – ०६, माघ । पोखरामा अवैध रुपमा होटलहरु निर्माण हुने क्रम जारी रहेको छ । पोखरामा आवश्यकताको आधारमा अग्ला हाई राइजिङ भवन निर्माण गर्न निजी क्षेत्रले माग गर्दै आए पनि हालसम्म महानगरले पोखराको लेकसाइड क्षेत्रमा भने भुई तला देखि तीन तलासम्म मात्र मान्यता दिएको छ ।

केही समय अघि पोखरामा महानगरको मापदण्ड विपरीत संचालनमा आएको सुइस इन्टर नेश्नल होटलको चर्चा भए पनि महानगरले यस विषयमा हालसम्म प्रष्ट नीति ल्याउन नसक्दा सयौं व्यवसायीले अवैध रुपमा पोखरामा होटल तथा अग्लो भवन बनाउन उद्धत भइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको स्विस होटल मापदण्ड विपरित भएको कारण उद्घाटन नै नगरी खाना खाएर फर्किएको घटना सेलाउन नपाउदै उक्त होटल नजिकै अर्को मापदण्ड विपरितको होटल गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त सहितका एनआरएनहरुले उद्घाटन गरे ।

पोखरा महानगरपालिकाले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा हालसम्म दुई तलासम्मको नक्सा पास अनुमति दिएको पोखरा महानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले बताए । पोखरामा अवैध रुपमा अग्ला भवनहरु बन्दै गएमा हाल महानगरले अध्यावधिक गरी तीन गुणा राजश्व असुली गरी अघि बढाउने तयारी गरेकोे उनले जनाए ।

 

उद्घाटन गरिएको उक्त होटलले पोखरा महानगरपालिकाबाट बाँकी ५ तलाको नक्सा पास लिएको छैन्। पोखरामा मापदण्ड विपरित किन होटलमा लगानी गर्नु भएको भन्ने पोखरा न्यूजको प्रश्नमा होटल संचालक मध्येका एक चक्रपाणी सुवेदीले पार्टीप्रति आक्रोस  पोखेका छन् । उनले भने “ हाम्रा नेता काँग्रेस, नेकपा, समाजवादी, फोरमबाट आए पनि उहाँहरुले सपना देखाउदा सिंगापुर, दुबई, जापानको ठुला भवन र जापान, अमेरिका, युरोपको विकासको देखाउने तर जमिनको भिजिविलिटि, योग्यता, आवश्यकता, लगानी गर्न सक्ने अबस्थामा छन् भने फेरी नेपालमा किन दुई तले एक तले तीन तले भवन भनेर रोक्ने ? यो ठुलो प्रश्न मैले देखि रहेको छु । ” महानगरबाट भूइ तला देखि तीन तलासम्मको भवन सम्पन्नताको मात्र प्रमाण पत्र लिएको उनले बताए । उक्त होटल हाल ८ तले रहेको छ भने टावर सहित जोड्दा ११ तले पुग्छ ।

सोमबार देखि संचालनमा आएको होटल शारा बाई आइडियाले पोखरामा हालसम्मकै सबै भन्दा बढी शुल्क लाग्ने रुम भएको होटल संचालनमा ल्याएको हो । विभिन्न पाँच तहमा विभाजिन गरिएको रुममा अधिकतम उक्त होटलको रुमको शुल्क ५ सय ५५ अमेरीकी डलर नेपाली करिब ६५ हजार निर्धारण गरिएको संचालक सुवेदीले बताए । स्ट्याण्डर, डिलक्स, सुपर डिलक्स, बिशिष्ट भिआइपि, भिभिआइपि सहितको रुमहरु ग्राहकहरुको लागि रहेको संचालक सुवेदीले बताए । उनका अनुसार न्यूनतम ४१  अमेरिकी डलर अर्थात ४ हजार ५ सय देखि ६५ हजार मुल्य बराबरका रुमहरु  होटलमा उपलब्ध छन्। भूइतला सहितको ८ तले पक्की भवनमा करिब ६० करोड लगानी भएको संचालक सुवेदीले बताए ।

उनका अनुसार उक्त होटलमा ६० वटा रुम रहेका छन्। साढे दुई रोपनीमा फैलिएको उक्त होटलमा स्मार्ट प्लाइनेटको प्रयोग, लेटेस्ट मोडलका लिफ्ट, किचन लिफ्ट, मिनि सुइमिङपुल, स्पाः साउना, सेमिनार तथा मिटिङ हल, रेष्टुरेण्ट, तातोपानी कुण्ड, रुफ टफ रेष्टुरेण्ट तथा भ्यू टावर लगायतका सेवा समेत रहेको संचालक सुवेदीले बताए । ५ बर्षीय योजनामा अघि बढेको उक्त प्रोजेक्ट २ महिना अघि नै सकिएको उनले जनाए । उक्त होटलको मुख्य लगानीकर्ता भने सुवेदीकी श्रीमती सहारा सुवेदी हुन् ।

कास्कीकोट हुदै पोखरा हुँदै  हाल उनको परिवार जापानमा बस्दै आएका थिए । सुवेदी परिवार सहित एन.आर.एन र आइडिया फर नेपाल तथा आइडिया फर वल्र्डको संयुक्त लगानीमा उक्त होटल संचालनमा आएको हो । उक्त होटल उद्घाटनको अवसरमा विशेष गरी १० देखि ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । चीन, भारत, बंगलादेश, बर्मा , थाइल्याण्ड, जापान, अमेरिकासहितका युरोपियन मुलुकका पर्यटक ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपालीलाई  लक्षित गरिएको उनले जनाए । उक्त होटलमा आपतकालिन ढोकाहरु समेत  राखिएको बताउदै संचालक सुवेदीले होटलमा सरसफाइमा विशेष ध्यान दिने जनाए ।

उक्त होटलको एक समारोहका बिच गैर आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त सहितका अन्य एनआरएनहरुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष पन्तले नेपालका होटलहरुमा सफाइमा धेरै चुकेको गुनासो गरे । नेपालमा बाहिरको पुंजी भित्राउदै देशको समृद्धि हासिल गर्न सकिने उनले  बताए । नेपालमा नयाँ प्रविधि भित्राउन आफुहरु कटिबद्ध भएको उनले जनाए ।  होटलमा हाल करिब ५० भन्दा बढीले रोजगार पाएका छन् ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले सामान्यतया पोखरामा हालसम्म प्रति एक रुमको ४ सय अमेरिकी डलरसम्मको रहेकोमा सहारा होटलमा ५ सय ५५ डलर रेट रहेको होटल  पोखरामा पहिलो  भएको बताए । नेपाल भ्रमण बर्षको अवसरमा यस्ता गुणस्तरका होटल पोखरामा आवश्यक भएको उनले बताए । विश्व र नेपालका उच्च लेभलका पर्यटक लक्षित यस्ता होटलले गुणस्तरिय पर्यटक आगमन हुने अध्यक्ष तुलाचनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button