म पनि नाट्यप्रेमी हुँ : मन्त्री गुरुङ

राजाराम पौडेल, पोखरा न्यूज – ०६, माघ ।  पोखरामा सोमबारदेखि महानगरस्तरिय विद्यालय नाटक महोत्सव शुरु भएको छ । माघ १४ गतेसम्म चल्ने ९ दिने नाटक महोत्सवको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफु समेत नाट्यप्रेमी भएको बताए । पोखरामा विद्यालय स्तरिय नाटक महोत्सव आयोजना भएको भन्दै उनले खुशी व्यक्त गरे । ‘म पनि नाट्य प्रेमी हुँ, यस्ता महोत्सवले नाटक हेर्ने संस्कारको विकास हुन्छ’ उनले भने । विद्यालय–विद्यालयमा नाट्य गतिविधि नयाँ पुस्ताको आर्कषण नाट्य क्षेत्रमा थपिने उनले बताए । महोत्सवको अवसरमा मञ्चन हुने नाटक हेर्न उनले सबैमा आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभत्त श्रेष्ठले पोखरा थिएरटको स्थापना भएपनि पोखरामा नाट्य गतिविधि बढेको बताए । पोखरा थिएरटका सञ्चालक शंकरनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव निर्देशक परिवर्तनले महोत्सवको बारेमा जानकारी गराए । रमेश तिमिल्सेनाले सञ्चालनको गरेको कार्यक्रममा थिएटर सञ्चालक दिल प्रसाद गुरुङले स्वागत गरेका थिए ।

उद्घाटन अगाडि साँस्कृतिक झाँकी, बाजागाजा सहित र्याली निकालिएको थियो । र्याली पोखरा थिएटरबाट सुरु भई पालिखेचोक, महेन्देपुल, चिप्लेढुंगा, सिर्दाथचोक, नालामुख हुँदै पुनः पोखरा थिएटरमा पुगेर उद्घाटन सत्रमा परिवर्तन भयो । उद्घाटन लगत्तै पोखरा थिएटरकै प्रस्तुतीको नाटक ‘कोहि किन बरबाद होस्’ मञ्चन गरियो ।

विजय मल्लले लेखेको यो नाटक परिवर्तनको निर्देशनमा मञ्चन गरियो । यो मनोवैज्ञानिक नाटक थियो । नाटकमा विद्यार्थी, शिक्षक र अभिभावक मुख्य पात्र रहे । नाटकमा प्रथम श्रेष्ठ, एभोन केसी, उत्सर्ग सुवेदी, तिर्सना थापामगर, मिलन श्रेष्ठ, संगम लामिछाने, सुर्य कुँइकेल, मानसी पनेरु, दृष्टि भुजेल, निरजरा पुन, रिजन केसी र आवा पौडेलले अभिनय गरे ।

महोत्सवको दोस्रो दिन भोली माघ ७ गते विहान साढे ११ बजे र दिउँसो २ बजे गरी दूई सो नाटक ‘ऐना’ मञ्चन हुनेछ । समीर मौरतीको निर्देशन र विष्णुराज तिमिल्सिनाको लेखनमा यो नाटक तयार हुँदैछ । नाटकमा रोशन कार्की, अनुस्का सुनुवार, अशीम पौडेल, ऋषिका बस्याल, मौसम गुरुङ, निश्चल ताम्राकार, उत्सव तिवारी, कृष्टिना ढुंगाना, जेनीसा गुरुङ, रोशनी गुरुङ, कृष्टिना रोक्का र विकी कुमारको अभिनय रहनेछ । ‘ऐना’ हिल पोइन्ट माध्यामिक विद्यालयको प्रस्तुतीमा मञ्चन हुन लागेको हो ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ गरेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । महोत्सवमा कुल नौ वटा नाटक मञ्चन हुनेछ । पोखरा थिएटरले यसअगाडी पनि विभिन्न किसिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवहरु सफलताका साथ आयोजना गरिसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button