राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशमा २ सय ३० मतदाता

पोखरा न्यूज – ०७, माघ । यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २ सय ३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १ सय ७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । गण्डकी प्रदेशमा प्रदेशसभाको दुई हजार ८ सय८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५ हजार ९ सय  ४० मतभार रहेको छ ।

‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँगे्रस र राष्ट्रिय जनमोर्चाबाट गरी पाँच उम्मेदवार बनेका छन् । नेकपाबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार छन ।

काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार छन । निर्वाचनका लागि गण्डकी प्रदेशमा जिल्ला निर्वाचन कार्यालय कास्कीलाई मतदान केन्द्र तोकिएको छ । मतदानको दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गर्ने समय तोकिएको कार्यालय प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । गण्डकीमा प्रदेशसभा र स्थानीय तहको छुट्टाछुट्टै दुई केन्द्र तोकिएको छ ।

निर्वाचन गरिने प्रत्येक समूहका लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्यहरुले मतदान गर्ने मतपत्र सेतो रङको कागजमा हरियो रङको मसीले विवरण तथा निर्वाचन चिह्न र स्थानीय तहकाले मतदान गर्ने मतपत्र सेतो रङको कागजमा रातो मसीले विवरण तथा निर्वाचन चिह्न उल्लेख गरिने बताइन्छ । सत्तारूढ नेकपाका प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १ सय २३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४ सय १४ छ ।

काँग्रेसको प्रदेशसभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । काँग्रेसको कूल मतभार दुई हजार १ सय ७८ छ । राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा तीन तथा अध्यक्ष स्थानीय तहमा तीन गरी छ मतदाता रहेकामा १ सय ९८ मतभार छ । समाजवादी पार्टीको प्रदेशसभामा दुई मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको दुई मत बराबर ३६ मतभार छ । स्थानीय तहका एक स्वतन्त्र मतदाताको १८ मतभार छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button