बागलुङ : नबन्दै सभागृह विवादमा तानियो !

तारानाथ आचार्य-०७, माघ । बागलुङको बरेङ गाउँपालिकाले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहल काम शुरु नहुँदै विवादमा तानिएको छ ।

गाउँपालिकाको केन्द्र रहेकै क्षेत्र आसपासमा सभाकक्ष निर्माण गर्नुपर्ने नीतिगत व्यवस्था विपरीत निर्माण हुन लागेको बहुउद्देश्यीय सभाहल काम शुरु नहुँदै विवादमा तानिएको हो । गाउँपालिकाले पायक नपर्ने स्थानमा सभाहल निर्माणको प्रक्रिया थालेको भन्दै राजनीतिक दल र जनप्रतिनिधिले त्यसको चर्को विरोध गरेका छन् ।

गत जेठ ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बहुउद्देश्यीय सभाहल बनाउने विषयमा निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकारको भौतिक योजना मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा उक्त हल निर्माण गर्ने निर्णय भएको थियो । मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत गरी रु एक करोड १० लाखको लागतमा भवन निर्माण गर्ने तयारी छ ।

गाउँसभाले वडा नं १ बरेङमा सभाहल बनाउने निर्णय गरेको भन्दै नेकपा, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेस तीन दलले विरोध गरेका थिए । गाउँसभामा सहभागी भएका जनप्रतिनिधिले समेत सभाहल बरेङमा बनाउने विषयमा आफूहरु सहमत नभएको र झुक्याएर हस्ताक्षर गराइएको भन्दै जेठ २५ गते गाउँपालिकामा असहमतिपत्र बुझाएका थिए । वडा नं ४ का अध्यक्ष लीलबहादुर खत्रीसहित १४ जना जनप्रतिनिधिले असहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सभाहल निर्माणका विषयमा विवाद भएपछि विभिन्न चरणमा गाउँपालिका र मन्त्रालयमा समेत विरोधपत्रहरु दर्ता भएका छन् । जेठ ९ गते भएको निर्णयमा असहमति जनाउँदै जेठको २७ गते भौतिक पूर्वाधार मन्त्रालयमा तीन दलका प्रतिनिधिले हस्ताक्षर गरेको पत्र बुझाइएको थियो । नेकपा गाउँ कमिटीका अध्यक्ष प्रतिप थापा मगर, काँग्रेसका होमबहादुर श्रीस र राजमोका हिराबहादुर थापाले हस्ताक्षर गरेको पत्र मन्त्रालयमा पठाइएको थियो ।

गाउँपालिकाको केन्द्र रहेको वडा नं २ सुदालाभन्दा केही पर निर्माण गर्न थालिएको प्रक्रियामा उनीहरुले असहमति जनाएका हुन् । केन्द्र रहेकै सुदाला आसपासमा बहुउद्देश्यीय सभाहल निर्माण गर्नुपर्ने नेकपा बरेङ गाउँ कमिटीका अध्यक्ष प्रदीप थापा मगरले बताए  । “केन्द्रभन्दा कैयौँ कोष टाढा पुर्याएर भवनका लागि जग्गा लिइएको छ, त्यो बरेङवासी सबैलाई अपायकको ठाउँ हो”, उनले भने, “अध्यक्षको स्वार्थमा गरिएको निर्णयले सर्वसाधारणले सास्ती पाउनुहुन्न ।” उनले वडा नं २ को सुदालामा नै भवन निर्माण गर्नुपर्ने बताए।

सभाहल गाउँपालिका केन्द्र नजीकै निर्माण गर्नुपर्ने माग गर्दै नेकपाले पुनः गाउँपालिकालाई पत्र बुझाएको छ । सबैलाई पायक पर्ने र गाउँपालिका केन्द्रभन्दा टाढा पुगेर सभाहल निर्माण नगर्न अनुरोध गर्दै पुस २७ गते गाउँपालिकालाई पत्र बुझाएको अध्यक्ष थापाले बताए । “नजीकैमा जग्गा चाहिए उपलब्ध गराउन हामीले पहल गर्छौं”, उनले भने, “बहानाबाजीमा सभाहल टाढा पुर्याउन दिँदैनौँ ।”

गाउँपालिकाले भने केन्द्र रहेकै वडामा सभाहल निर्माणको प्रक्रिया अघि बढेको बताएको छ । “हामीले केन्द्र रहेकै वडामा जग्गा प्राप्ति गरेर प्रक्रिया अघि बढाएका हौँ”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, “वडा नं १ को बरेङ बजार र गाउँपालिका केन्द्रबीच सभाहल बन्छ ।” बाहिर चर्चा भएको र विरोध भएको जस्तो वडा नै अन्तर पारेर सभाहल निर्माण नहुने उनले बताए । “गाउँसभामा सर्वसम्मत निर्णय भएको विषय हो, एकजना वडाअध्यक्षले मात्रै ‘नोटअफ डिसेन्ट’ लेख्नुभएको छ”, उनले भने, “हामी सबैको पायक पर्ने स्थानमा नै सभाहल निर्माण गर्छौं ।”

प्रदेश सरकारको सहयोगमा निर्माण हुने सभाहलको बजेट फ्रिज हुन नदिनकै लागि जग्गा प्राप्ति भइसकेकै स्थानमा सभाहल निर्माणको काम थालिएको अध्यक्ष शर्माले बताए । राजनीतिक दलहरुको कार्यक्रमदेखि सामाजिक सङ्घसंस्थाले पनि यसअघि कार्यक्रम गर्दा विद्यालयका कोठा माग्नुपथ्र्यो । विद्यालयमा पढाइ प्रभावित नपार्ने अभियानका लागि पनि गाउँपालिका आसपासमा बनाउनुपर्ने प्रावधान राखिएको प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button