गण्डकी प्रदेश सांसद मनाङेद्वारा एन्फा कास्की अध्यक्षमाथि हातपात

पोखरा न्यूज – ०७, माघ । दीपक मनाङेको नामले परिचित गण्डकी प्रदेश सांसद राजिव गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मंगलबार हातपात गरेका छन्।

पोखराको भण्डारढिकमा आजदेखि शुरु भएको गण्डकी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा पुगेका सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका हुन् ।

मुख्यमन्त्री कप खेल्न मनाङबाट आएको टोलीलाई अभ्यास गर्ने मैदान र बस्ने ठाउँको व्यवस्था र पैसा नदिएको भन्दै सांसद मनाङेले कार्यक्रम स्थलमै आफूमाथि हातपात गरेको अध्यक्ष गुरुङले बताए।

सांसद मनाङेले ६/७ दिन अगावै मनाङबाट आएका खेलाडीलाई बस्ने ठाउँ र पैसा नदिएको भन्दै गालीगलौजका साथमा हातपात गरेको अध्यक्ष गुरुङले पोखरा न्यूजलाई बताए। आफुले नियम अनुसार काम गर्दागर्दै समेत सांसद मनाङेले हातपात गरेको एन्फा अध्यक्ष मिलनको भनाई छ ।

अभ्यासका लागि खेल मैदान लगायतका प्रवन्ध गर्दागर्दै आफूमाथि बिनाकारण हातपात भएको भन्दै आफुले हातपातको बिषयमा जाहेरी दिन लागेको गुरुङले बताए। ‘मैले नियम विपरित काम गर्न मिल्दैन भन्दा सांसद मनाङेले मलाई बिनाकारण प्रतियोगिता स्थलमै हात र खुट्टाले प्रहार गर्ने काम भयो अव प्रहरीमा जाहेरी दिदैछु -अध्यक्ष गुरुङले पोखरा न्युजसँग भने।’

सांसद मनाङेले भने एन्फा अध्यक्ष मिलन गुरुङले मुख्यमन्त्री कप फुटवल प्रतियोगिताको नाममा प्रतियोगिता र प्रदेशका मुख्यमन्त्रीको बदनाम गर्ने काम गरेकाले सजक गराउन झापड हानेको बताए ।

मुख्यमन्त्री कप जस्तो प्रतियोगितालाई ख्यालठट्टा बनाएर पैसा कमाउने माध्यम बनायको ले आफुले जनप्रतिनिधिको हिसावले उसलाई चेतावनी दिएको सांसद मनाङेले पोखरा न्यूजलाई बताए ।

उसले प्रतियोगिताको नाममा पैसा ल्याएर हिनामिना गरेको छ, खेलाडीहरुलाई बोलाएर दिनुपर्ने सेवासुविधा दिएको छैन, प्रतियोगिताको टाइसिट एकलौटी रुपमा तयार पारेको छ त्यस्ता बदमासलाई त्यसै छाड्ने? सांसद मनाङेले प्रतिप्रश्न गरे ।

सांसद मनाङेको आरोपमा भने अध्यक्ष गुरुङले आफुले सबैकुरा नियम सङ्गत गरेको र खल्तीबाट पैसा खर्च गरेर प्रतियोगिता शुरु गरेको दावी गर्दै यथार्थ विवरण भोलि पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button