पोखरामा बिहीबार गीति नाटक ‘मुनामदन’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – ०८, माघ । पोखरामा बिहीबार गीतिनाटक ‘मुनामदन’ मञ्चन हुने भएको छ । पोखरामा आयोजित महानगरस्तरिय विद्यालय नाटक महोत्सवको चौथो दिन डाइमण्ड माध्यामिक विद्यालय तालचोकको प्रस्तुतीको यो नाटक मञ्चन हुने भएको हो । नाटकमा सोही विद्यालयका विद्यार्थीको अभिनयमा हेर्न पाइनेछ । विहान साढे ११ बजे पहिलो सो हुनेछ र पुनः दिउँसो २ बजे दोस्रो मञ्चन गरिनेछ । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको यो नाटकलाई अनिल गुरुङ र नारायण प्रसाद पराजुलीले संयुक्त निर्देशन गर्दैछन् ।

नाटकमा सञ्चिता थापा, सौरभ खत्री, पुनम भण्डारी, सुलभ खनाल, रिजन राना,, सोनिया गुरुङ, प्रकाश गुरुङ, सफल तिवारी, विजय पौडेल, सरोज पराजुली, निश्चा शर्मा र पुष्पा शाहीको अभिनय रहनेछ । नाटकका निर्देशक नारायण प्रसाद पराजुलीले नाटक ३३ मिनेटको अवधिको हुने बताए । विद्यार्थीहरुले गरेको मेहनतका कारण नाटक राम्रो बन्ने उनको विश्वास छ । ‘विद्यार्थीले देखिएका कमी कमजोरीलाई सुर्धार्दै अगाडी बढेका छन्, उनीहरुको अभिनय क्षमतामा निखारता आएको छ’ उनले जनाए ।

 

डायमण्ड माध्यामिक विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायले साहित्य तथा कला क्षेत्रमा विद्यार्थीको रुचि बढाउन विद्यालयले कार्यक्रम गर्दै आएको बताउँछन् । ‘हामीले हरेक वर्ष स्कुलमा एउटा–एउटा नाटक देखाउने भएकोले विद्यार्थीमा नाटक प्रति रुचि छ, यसपाली उनीहरुले थिएटरमा पहिलोपटक अभिनय गर्दैछन्, यो उनीहरुको लागि नयाँ अनुभवपनि हो’ उनले भने ।  नाटक महोत्सवको तेस्रो दिन बुधबार नाटक ‘गलबन्दी’ मञ्चन गरियो । माघ १४ गतेसम्म चल्ने ९ दिने नाटक महोत्सवमा कुल ९ नाटकनै मञ्चन हुनेछन् ।

महोत्सवको पहिलो दिन पोखरा थिएटरकै प्रस्तुतीको नाटक ‘कोहि किन बरबाद होस्’ मञ्चन गरिएको थियो ।  ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ गरेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । गैहपाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button