म्याग्दीको नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव हुँदै

कमल खत्री, पोखरा न्यूज – ०९, माघ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । माघ १६ देखि २१ गतेसम्म नारच्याङको बेशीगाउमा पर्यटन महोत्सवसंगै अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए ।

अन्नपूर्ण आधार शिविर, रुप्से झरना, अन्धगल्छी, बाजा बजाउने ढुंगा, खोप्रा, तातोपानी लगायत गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा पर्यटकहरुको आगमन बढाउने लक्ष्य सहित महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाले पर्यटन विकासको लागि पूर्वाधार निर्माण, प्रचार प्रसार र प्रवर्द्धनात्मक कार्यहरुलाई संगसंगै अघि बढाएको अध्यक्ष पुनले जानकारी दिए ।

सत्तरी वर्षअघि आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रचार प्रसार र सञ्चालनका लागी नारच्याङमा पर्यटन महोत्सवको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । अन्नपूर्ण गाउपालिकाको नारच्याङ्गदेखि विश्वकौ दसौ र नेपालको नवौ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने सबैभन्दा छोटो पदमार्ग निर्माण भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नया गन्तब्यको रुपमा नारच्याङ–अन्नपूर्ण आधार शिविर पदमार्गलाई सञ्चालनमा सघाउने उदेश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उप–समितिका संयोजक कृष्णप्रसाद बरुवालले बताए । महोत्सवलाई सफल बनाउन अध्यक्ष पुनको संयोजकत्वमा मुल र विभिन्न उपसमिति गठन गरेर महोत्सवको तयारीलाई तिब्र बनाइएको उनले जानकारी दिए ।

स्थानीय अन्नपूर्ण युवा क्लवको समन्वयमा महोत्सव स्थलमा पूर्वाधार निर्माण सुरु भएको छ । महोत्सवसंगै वडा स्तरीय प्रौढ, महिला, पुरुष भलिबल र बास्केटबल प्रतियोगिता, एकल र सामुहिक नृत्य प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिका संयोजक ओमप्रकाश फगामीले जानकारी दिए  ।

ती सबै प्रतियोगितामा गाउपालिकाका ८ वटै वडाको सहभागिता हुने भएको छ । पुरुष भलिबल र बास्केटबलमा बिजेता र उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल सहित ७५ हजार र पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी महिला भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, प्रमाणपत्र र मेडल सहित ६० हजार र चालीस हजार तथा प्रौढ भलिबलको बिजेता उपबिजेतालाई ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।

सामुहिक नृत्य प्रतियोगिताको बिजेतालाई बीस र उपबिजेतालाई १८ हजार तथा एकल नृत्यमा बिजेतालाई दश हजार र उपबिजेतालाई छ हजार रुपैया पुरस्कार दिइने आर्थिक संयोजक आत्मा तुलाचनले जानकारी दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button