जर्मनीमा गोली प्रहार गरेर आफ्नै परिवारको ६ को हत्या

पोखरा न्यूज – ११ , माघ । जर्मनीमा एक २६ वर्षीय पुरुषले आफ्नै परिवारका ६ जनाको गोली हानी हत्या गरेका छन् ।

जर्मनीको दक्षिण पश्चिमी सहर रोट आम सीमा भएको घटनामा बन्दुकधारीले एक रेष्टुरेन्टमा अन्धाधुन्ध गोली प्रहार गर्दा बन्दुकधारीको आमाबाबुसहित अन्य चारको मृत्यु भएको जनाइएको छ । स्थानीय समय अनुसार शुक्रबार मध्यान्ह १२:४५ बजे भएको घटनामा अन्य दुई जना घाइते भएको पनि जनाइएको छ ।

बन्दुकधारीले रेष्टुरेन्ट पछि रेल स्टेशनमासमेत गोली चलाएका थिए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् भने मृतकहरुको उमेर ३६ देखि ६९ सम्म रहेको छ । घटनाको कारण पारिवारिक कलह हुनसक्ने जनाइएको छ ।

बन्दुकको लाइसेन्सप्राप्त हत्याराले गोलीप्रहार पछि आफैले प्रहरीलाई खबर गरेका थिए । गोलीकाण्डमा एक जनाको मात्र संलग्नता रहेको र आंतककवादी उद्देश्य नभएको प्रहरीले बताएको छ । प्रहरीले फरेन्सिक परीक्षणका लागि घटनास्थल सील गरेको र विस्तृत अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button