पोखराको विषादी मापन प्रयोगशाला दुई महिनादेखि बन्द

पोखरा न्यूज – १३ , माघ । पोखराको राष्ट्रिय फलफुल, तरकारी थोक तथा खुद्रा विक्री केन्द्रमा रहेको विषादी मापन केन्द्रमा रहेको प्रयोगशाला दुई महिनादेखि बन्द रहेको छ ।

पोखरा शान्तिवन रहेका बिक्रि केन्द्रमा रहेको प्रयोगशालाबाट कर्मचारी नहुँदा नियमित रुपमा फलफुल तथा तरकारीको विषादी मापन हुन सकिरहेको छैन । माघ १३ गते सोमबार अवलोकनका लागी पुगेका मानवअधिकार समुह कास्की र इन्सेकको टोलीसँगको कुराकानीमा विक्री केन्द्रका बजार व्यबस्थापन समितिका अध्यक्ष छेवाङ लामाले सरकारले कर्मचारी व्यबस्थापन नगर्दा बाहिर बाट आएका फलफूल तथा तरकारी सिधै बिक्रि केन्द्रमा भित्राउनु पर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

‘बाहिर लगेर विषादी मापन गर्न सकिदैन दुई महिना भयो विषादी मापन हुन छाडेको केन्द्र देखी प्रदेश सम्म जानकारी गराएका छौं छिट्टै समाधान हुने आश्वासन पाएका छौं’,उनले भने । विषादी प्रयोगशाला संचालनका लागी २ जना प्राविधिक र किट खरिदका लागी मासिक १ लाख बराबरको खर्च हुने लामाको भनाइ छ । ‘बजेटको अभाव छ नियमित खर्चलाई व्यबस्थापन गर्न प्रदेश सरकारसंग कुराकानी पनि गरियो मन्त्रीज्यूले यसपाली बजेट छैन व्यबस्थापन गरौला भन्नुभएको छ’,लामाले भने ।

पोखरामा रहेको बिक्रि केन्द्रमा कास्की , काभ्रे , धादिङ , चितवन , स्याङ्जा जिल्लाको त्रियासी भन्ने स्थानबाट फलफूल तथा तरकारी भित्रले गर्दछन् । जसमा ५ प्रतिशत भारतबाट आयत हुने गर्दछन् । काभ्रेबाट आयात गरिने आलु , स्याङ्जाबाट गोलभेंडामा विषादीको मात्र अधिकतम प्रयोग हुने गरेको यसअघिको परीक्षणले देखाएको उनी बताउछन् ।

‘केहीसमय अघि काभ्रेबाट ल्याएको ८७ बोरा आलु अधिक विषादी भएकै कारण नष्ट गरियो’,उनले भने,‘प्रयोगशाला संचालन हुदाँ किसानहरु पनि डरकै कारणपनि विषादी प्रयोगमा कम गर्न थालेका छन्’ । नेपाल भारत सिमामा विषादी जाँच नियमित गर्न सकेका पनि देशैभर विषादी प्रयोग गरिएका फलफूल तथा तरकारी विक्रिमा कमि आउने लामाको भनाई छ । प्रयोगशालालाई छिटो भन्दा छिटो संचालनमा ल्याउन राज्यको निकायले गम्भीर रुप सोच्नुपर्ने उनको भनाई छ ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल , गैसस महासघ कास्की अध्यक्ष पदम पहारी , इन्सेक कार्यक्रम अधिकृत सवनम शर्मा , मानवअधिकार समुह अध्यक्ष श्याम कुँवर सदस्य बिना लोहनी , निर्मला अर्याल , कास्की प्रतिनिधि सुशन घिमिरे , सहजकर्ता तिर्सना तिमिल्सिना लगायत पत्रकारहरुको टोलीले कृषि बजार र विषादी प्रयोगशालाका बारेमा चासो राख्दै अवलोकन गरेका थिए ।

अवलोकन पश्चात इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले उपभोक्ताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा जोडिएको प्रयोगशालाको संचालनका लागी राज्य संवेदनशिल बन्नुपर्ने बताए । यसअघि पनि पटकपटक बन्द भएको प्रयोगशाला संचालनका लागि इन्सेक , मानवअधिकाुर समुहले , शान्तिका लागी नागरिक समाजको सन्जाल लगायतले नियमित संचालनका लागी पहल गर्दै आइरहेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button