अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी

पोखरा न्यूज – १४ , माघ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ । तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले पनि सो भनाइ सत्य नरहेको बताएका छन् ।

घाज्नीमा सोमबार दुर्घटनामा परेको विमान अमेरिकी यात्रुबाहक विमान थियो वा सैनिक विमान भन्ने बारेमा भने कुनै जानकारी दिइएको थिएन । अफगानिस्तानको स्थानीय समयानुसार सोमबार दिउसो १ बजेर १० मिनेट जाँदा घाज्नी राज्यको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी स्थानीयबासीले जानकारी गराएका छन् ।

अफगानिस्तानमा हत्या हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनका प्रवक्ता जबिउल्लाह मुजाहिदले मङ्गलबार ट्वीट गर्दै तालिबान संगठनका लडाकूहरुले सोमबार घाज्नी प्रान्तमा एक अमेरिकी विमान खसालिदिएको बताएका छन् । उनले आफ्नो संगठनका प्राविधिक लडाकूहरुले क्षेप्यास्त्रका माध्यमबाट सो विमान खसालेको बताएका छन् । उनले भने उक्त विमान अमेरिकी गुप्तचर निकायको रहेको र त्यसमा अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरु रहेका बताएका छन् ।

सो विमानमा ती सबै अधिकारीहरु मारिएको प्रवक्ता मुजाहिदले जानकारी दिएका छन । उनले विमानमा रहेका गुप्तचर निकायका वरिष्ठ अधिकारीहरु मारिएका छन् र उनीहरुको शव विमान खसेको वरपर छरिएर रहेका छन् भनी ट्वीटरमा लेखेका छन् । तर पनि उनको सो भनाइको अमेरिकाले भने खण्डन गरेको छ । सो विमानको दुर्घटनाको प्रकृति हेर्दा तालिबानहरुले क्षेप्यास्त्र हानेर वा अन्य कुनै बाह्य कारणले विमान खसेको जस्तो नदेखिएको उनीहरुको भनाई छ ।

अफगानिस्तानमा रहेको अमेरिकी सैन्यका प्रवक्ता विलियम लिगेटले सो विमान तालिबानले खसालेको भन्नेमा आफूलाई विश्वास नरहेको बताए । उनले उक्त विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ तर पनि तालिबान या अरु कुनै पनि बाह्य कारणले खसालिएको भनी गरिएका दाबीहरुमा कुनै सत्यता छैन– उनले बताएका छन  ।

सोमबार नै सो दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको स्थानीयले बताएका थिए । उनीहरुले विमानको आगो निभाउने प्रयास गरिरहेको पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिएको थियो । गजनी अफगानिस्तानको पूर्वी प्रान्त हो । उक्त प्रान्तमा तालिवान विद्रोहीको प्रभाव रही आएको छ । सोमबार केही विदेशी सञ्चारले विद्रोहीको प्रभाव बढी रहेका कारण उक्त क्षेत्रमा पुग्न सुरक्षा अधिकारीलाई पनि कठिनाई भएको बताइएको थियो ।

द्वन्द्वरत अफगानिस्तानमा सेनाले प्रयोग गर्ने विमान र त्यसको सुरक्षा पनि विशेष किसीमको हुने गर्दछ भनिन्छ । भौगोलिक विकटताका कारण यहाँ धेरै दुर्घटनाहरु हुने गरेको पनि पाइन्छ । अफगानिस्तानमा सन् २०१० मा पामिर एयरवेजको यात्रुबाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा छ चालकदलका सदस्यसहित ३८ यात्रुको मृत्यु भएको थियो ।

विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । त्यसयता पनि साना विमानहरु र हेलिकोप्टरहरु दुर्घटनाग्रस्त भएका छन् । यस पटकको यस विमानमा भएको क्षतिको बारेमा केही बताइएको छैन । सुरक्षा अधिकारीहरुले पनि यस विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button