पोखरा न्यूज – १५, माघ । वेदव्यासको जन्मभुमि तनहुँमा १०८ फिटको वेदव्यासको मूर्ति निर्माण कार्यको सहयोगार्थ महायज्ञ आयोजना गरिने भएको छ ।
दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको परियोजनालाई सहयोग रकम जुटाउने उधेश्यले यही माघ २० गतेदेखि २८ गतेसम्म दमौली स्थित सत्यवती पार्क अनसन चौतारीमा श्रीमद् भागवत सप्ताह विराट ज्ञान-महायज्ञ आयोजना गर्न लागिएको व्यासक्षेत्र शिव पाञ्चायन विकास कोषले जानकारी दिएको छ ।
व्यास क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य अनुसार निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको विस्तृत परियोजलाई सफल पार्न सहयोग संकलन गर्ने उधेश्यले विराट ज्ञान-महायज्ञ आयोजना गर्न लागिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले पोखरामा बुधवार आयोजित भेटघाट कार्यक्रममा जानकारी दिए ।
उक्त क्षेत्रमा करिव ७२ रोपनी क्षेत्रफललाई समेटेर व्यासको मुख्य मूर्तिसहित २७ वटा साना व्यासका मूर्ति, प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, पुस्तकालय, शौचालय, बगैँचाको , पुजारी घर लगायतका भौतिक संरचना निर्माण गर्न लागिएको महासचिव सिग्देलले जनाए ।
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय हिसावले ओझेलमा परेको महत्वपूर्ण स्थल व्यास क्षेत्रलाई सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने कोषका प्रमुख संरक्षक काशीनाथ न्यौपानेले बताए । छिमेकी मुलुक भारतले धार्मिक पर्यटकलाई आकर्षण गर्न नेपालका भू-भागका धार्मिक स्थल समेत आफ्नो देशमा पर्ने भनेर झुट प्रचार गरिरहेको बेला नेपालमै रहेका अनगिन्ति ऐतिहासिक र धार्मिक स्थलहरुको संरक्षणमा सम्वन्धित निकायको ध्यान नपुग्नु दुखद रहेको उनको भनाई थियो । ढिलै भएपनि धार्मिक इतिहास बोकेका वेद, उपनिषद्, बह्मसुत्र, महाभारत आदि ग्रन्थका लेखक वेदव्यासको सम्मान स्वरूप परियोजना निर्माण हुन् लागेको भन्दै उनले खुसि व्यक्त गरे ।
वेदव्यासको मूर्ति सहितको परियोजना सफल पारेको खण्डमा व्यास क्षेत्रसहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासमा ठुलो योगदान पुग्ने पर्यटनविज्ञ श्रीकान्त खतिवडा शर्माले उल्लेख गरे । परियोजना सम्पन्न संगै राष्ट्रिय एवं अन्तरराष्ट्रियरुपमा व्यास क्षेत्रको प्रवर्द्धन हुने र सो क्षेत्रको पर्यटनले फड्को मार्ने धारणा खतिवडाले व्यक्त गरे ।
व्यास क्षेत्रलाइ धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न करिब रु ६४ करोडको लागतमा परियोजना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए । करिव ४ वर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी भगवान् वेदव्यासको जन्मभूमि व्यास क्षेत्रलाइ धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा विकास गर्न कोष लागिपरेको श्रेष्ठको भनाई छ । परियोजनामा १०८ फिटको व्यासको मूर्ति निर्माण गर्न जमिनको सतहबाट ४० फिट अग्लो र ८० फिट चाक्लो आधार तयार पारिने श्रेष्ठले जनाए । परियोजना अन्तर्गत मुर्ति निर्माण कार्यमा खर्च गर्न नगरपालिकाले ५० लाख सहयोग गरेको भन्दै त्यसबाहेक अन्य क्षेत्रबाट आश्वासन आएको र रकम भने आइनसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यास क्षेत्रमा शुरु हुन् लागेको परियोजना धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसावले महत्वपुर्ण रहेको उल्लेख गर्दै निर्माण कार्यलाई पूर्णता दिन सबै जुट्नुपर्ने बताए । कुनैपनि शुभकार्य गर्न कहिलेपनि ढिलो नहुने भन्दै महासङ्घ कास्कीका अध्यक्ष श्रेष्ठले परियोजना निर्धारित समयभित्र सम्पन्न गर्न सबै लागिपर्नुपर्ने बताए ।