खाजामा मासुचिउरा पाएपछि विद्यार्थी खुशी !

पोखरा न्यूज – १६ , माघ ।  तनहुँको म्याग्दे गाउँपालिका कार्यालयद्वारा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पढ्न आउने विद्यार्थीको आकर्षण बढ्दै गएको र बीचमै पढाइ छाड्ने प्रवृत्तिको अन्त्य भएको छ ।

कक्षा १–३ का ११ र १–५ का १० गरी २१ विद्यालयमा दिवा कार्यक्रम लागू गरिएको सूचना अधिकारी बुद्धिसागर खनालले जानकारी दिनुभयो । दिवा खाजा कार्यक्रमबाट २१ विद्यालयका ६ सय २८ छात्रछात्रा लाभान्वित भएका छन् ।

आर्थिक वर्ष ०७६/०७७ का लागि रु २५ लाख विनियोजन भएकामा पहिलो चौमासिकमा रु छ लाख ३३ हजार ७ सय ५० र दोस्रो चौमासिकमा रु आठ लाख ५० हजार ९२० बजेट निकासा गरिसकिएको उनले बताए ।

प्रत्येक विद्यालयमा जनप्रतिनिधिको निगरानी रहने गरी पत्रुखानारहितको खाजाको व्यवस्था गरिएको छ । उनले भने, “कुन बार के खाजा खाने भन्ने तालिका बनाएर सोहीअनुरुप कार्यान्वयन भएको छ ।”

खाजाको परिकारमा तरकारीचिउरा, चनाअण्डा र महिनामा एक दिन मासु चिउराको व्यवस्था हुनेछ । गाउँपालिकाबाट प्रतिविद्यार्थी रु १५ प्रदान गरिएको र अभिभावकसँग रु पाँचका दरले पैसा सङ्कलन गरिएको उनले जानकारी दिए  । विद्यालयमा खान पकाउने सामग्रीको व्यवस्था गरी एक कर्मचारी खाजा बनाउने, खुवाउने र भाँडा माझ्नका लागि राखिएको छ ।

कार्यक्रम लागू भएका विद्यालयको समयसमयमा अनुगमन गर्ने गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले जानकारी दिए  । विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी स्वस्थ भई पढाइमा सक्रिय भएर भाग लिन सक्छन् भन्ने उद्देश्यले विद्यालयमा दिवा खाजा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनले बताए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button