पर्यटन गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारः मुख्यमन्त्री गुरुङ

कमल खत्री, पोखरा न्यूज – १६ , माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्र गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार भएको बताएका छन् । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ४ नारच्याङको बेशीगाउँमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले गण्डकी प्रदेशमा विश्व प्रसिद्ध पर्यटकीय गन्तव्यहरु रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिसंगै रोजगारिको अवसर सिर्जना गर्न सघाउने बताए । नारच्याङदेखि अन्नपूर्ण हिमालको उत्तरी आधारशिविर जाने पदमार्गलाई सञ्चालनमा ल्याउन गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माणमा सघाउने उनले बताए । ‘‘यस बर्ष प्रदेश सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुमा पदमार्ग निर्माणको लागि १८ करोड बढी बजेट विनियोजन गरेको छ, त्यसबाट अन्नपूर्ण आधार शिविर जाने रुटमा पूर्वाधार बनाउन बजेट उपलब्ध हुन्छ, पर्यटन विकासमा नयाँ गन्तव्यको पहिचानमा हाम्रो जोड छ’’ मुख्यमन्त्री गुरुङले भने ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको १ सय १० वटा नयाँ पर्यटकीय गन्तव्यहरुमध्ये यस बर्ष ११ जिल्लामा ४ वटा क्षेत्रका दरले हरेकमा ४० लाख बजेट पूर्वाधार निर्माणमा परिचालन गर्ने गुरुङले घोषणा गरे । उनले यस क्षेत्रमा हिमाल आरोहण, महशिकार, पदयात्रा लगायतका साहसिक पर्यटनको विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता समेत जनाए ।

पर्यटन क्षेत्रलाई विकास गर्न प्रदेश सरकारले होमस्टे सञ्चालन र प्रवर्द्धनको लागि प्राथमकिता दिएको बताउँदै मौलिक कला संस्कृति समेत पर्यटन विकास र समृद्धिको आधार रहेकोमा जोड दिए । उनले अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटन, जलस्रोत,कृषि, पशुपालन लगायतको सम्भावना उजागरमा गाउँपालिकासंग प्रदेश सरकारले सघाउने बताए । संघिय शासन व्यवस्थाले नागरिकलाई सरल र सहज रुपमा सेवा लिने अवसर र गाउँ गाउँमा विकासको लहर ल्याएको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

उत्तर दक्षिण जोड्ने कालिगण्डकी करीडोरले पर्यटन र कालिगण्डकी करीडोर प्रशारण लाईन मार्फत यस क्षेत्रको जलविद्युतको विकासको आधार तयार गर्ने भन्दै सबै राजनीतिक दल र जनप्रतिनिधिले विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर एकताबद्ध भएर अघि बढ्नुपर्ने आबश्यकता औँल्याए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, नेकपाका नेता खड्ग गिरी, नेपाली काँग्रेसका सभापती खमविर गर्वुजा, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटन क्षेत्रको उजागर गर्न महोत्सवले सघाउनेमा जोड दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button