मुस्ताङको ढुम्बा ताल जमेर बरफ बन्यो

पोखरा न्यूज – १७ , माघ । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । ढुम्बा ताल ठ्याक्कै मुटुको आकारको भएकाले ‘हट सेप्ट लेक’ भनेर पनि चिनिन्छ ।

तालको व्यवस्थापन कुछुप तेरेङ्गा गुम्बाले परापूर्वकालदेखि गर्दै आएको छ । तालमा विभिन्न जातका माछा छाडिएको छ, तालको सरसफाइ र माछाको हेरविचार गर्न र आहारा खुवाउने सबै गुम्बाले गर्ने गरेको गुम्बाका लामाकाजी थकालीले बताए  । यस तालमा कुछुप तेरेङ्गा गुम्बालाई चढाउने पवित्र जल भएका कारण तालमा फोहर गर्न मनाही गरिएको लामा थकालीले बताए ।

मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने प्रायः पर्यटक ढुम्बा ताल घुम्न आउने गरेको वडा नं ५ का अध्यक्ष वीरेन्द्र थकालीले बताए  । पर्यटकको आकर्षणका कारण मुस्ताङको सदरमुकाम जोमसोमदेखि पाँच किलोमिटर पश्चिममा पर्ने ढुम्बा ताल दुई वर्षयता चर्चामा आउन थालेको थकालीले बताए  ।

समुद्र सतहदेखि करिब तीन हजार मिटरको उचाइमा रहेको ढुम्बा तालको लम्बाइ १ सय ५० मिटर र चौडाइ १ सय मिटर छ । तालमा गएर पूर्वको नीलगिरि र पश्चिमको धौलागिरि हिमाल यस स्थानबाट देखिन्छ ।

नीलो रङमा देखिने यो ताल हिजोआज जमेको छ । जमेको तालमा युवा तस्बिर खिचाउन जान थालेका छन् । पछिल्लो समय जमेको ताल हेर्ने आउने पर्यटकको सङ्ख्या बढिरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख तुलसी दाहालले बताए । जोमसोमदेखि ठिनीको बाटो अथवा जोमसोमदेखि स्याङको बाटो हुँदै ढुम्बा ताल पुग्न सजिलै सकिने दाहालले बताए  ।

ढुम्बा तालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यलाई जोगाउन संरक्षण, प्रवद्र्धन तथा सुन्दरताका लागि गण्डकी प्रदेश सरकारमार्फत यसै आवमा रु २५ लाख बजेट विनियोजन गरिएको गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए  । आगामी दिनमा तालमा बजेट विनियोजन गर्दै जाने सांसद गौचनले जानकारी दिए  ।

पछिल्लो समयमा केही नेपाली चलचित्रमा समेत ढुम्बा तालको मनोरम दृश्य छायाङ्कन हुन थालेपछि र सामाजिक सञ्जालमा तालको सुन्दरताको तस्बिर राख्न थालेपछि तालमा घुइँचो लाग्न थालेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button