पोखराका १ सहित ४ नेपाली पर्यटक पदमार्गमा अलपत्र, खोजी कार्य तीब्र

कमल खत्री, पोखरा न्यूज – १७, माघ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटीएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा चार जना नेपाली पर्यटक बाटो बिराएर अलपत्र परेका छन् । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बाटो बिराएर अंकीत शाहसहित चार जना पर्यटकहरु बिहीबारदेखि अलपत्र परेका हुन् ।

अलपत्र परेका पर्यटकहरुमा अंकीत शाहसहित १ जना पोखरा र ३ जना काठमाण्डौका बासीन्दा रहेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । हिउँले बाटो ढाकिएको कारण बाटो बिराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अलपत्र परेको जानकारी आएपछि खोजीकार्यलाई तीब्र पारिएको छ । बिहानैदेखि खोजीकार्य शुरु गरिएपनि अहिलेसम्म उनीहरुलाई भेट्याउन नसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

आगो बालेर धुवा मार्फत संकेत दिन अनुरोध गरिएको र अलपत्र परेको स्थान पहिचान नभएको कारण थप समस्या भएको प्रजिअ ढकालले बताए । अहिले स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली अल्पत्र परेका पर्यटकको खोजीको लागि त्यसतर्फ गएका छन् ।

मोवाईल सम्पर्कबाट आफुहरु अलपत्र परेको खबर गरेपनि घना जंगल, भिर र बाख्लो हिउँको कारण उनीहरु रहेको स्थानको पहिचान गर्न कठिनाई भएको खोजीको लागि नारच्याङबाट गएका स्थानीय चुपिन पुर्जाले जानकारी दिए । उनका अनुसार, दुई जना युवाहरु बिहानै खोजीकार्यको लागि गाउँदेखि जंगलतर्फ लागेका थिए ।

‘‘हिउँले हिँड्न नै कठिन छ, उहाँहरुले खोचमा छौँ भन्नुहुन्छ, तर कतातिरको कुन खोचमा हो अझै पहिचान गर्न सकिएको छैन’’– उनले थपे । बिहीबार दिउँसो खोप्रालेकबाट नारच्याङ तर्फ आउँदै गर्दा बिच बाटोमै हराएका पर्यटकहरुले रातीमात्रै मोवाईल मार्फत आफूहरु हराएको जानकारी गराएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button