अन्नपूर्ण महोत्सवको बजेट २५ लाख, कृषकलाई रित्तो हात

कमल खत्री, पोखरा न्यूज – १९ , माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजित प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा राखिएको कृषि प्रदर्शनीमा सहभागी कृषकलाई रित्तोहात घर फर्काइएको छ । गाउँपालिकाद्धारा आयोजित पर्यटन महोत्सव स्थलमा सञ्चालन गरिएको कृषि सामाग्री पदर्शनी स्टलमा ३८ जना कृषकहरुले प्रदर्शनीको लागि सामाग्री ल्याएका थिए ।

गाउँपालिकाले महोत्सवको अवसरमा कृषि प्रदर्शनी समेत समावेश गरिएको भन्दै वडा स्तरका कृर्षकहरुलाई आफुले उत्पादन गरेका कृषि उपज प्रदर्शनमा ल्याउन सुचित गरेको थियो । गाउँपालिकाको आह्वान अनुसार कृषि उपज पदर्शनीमा ल्याएका कृषकहरु रित्तो हात फर्कदा निराश बनेका छन् ।

‘‘यती तामझाम गरेर महोत्सव लगाइएको छ, हामीले दुःख गरेर ल्याएका सामाग्रीको कुनै मुल्याङ्कन नै भएन, सबैलाई सम्भव नभएपनि उत्कृष्ट छनौट गरि प्रोत्साहन गर्नुपथ्र्यो’’– पदर्शनीमा सामाग्री राखेका एक कृषकले भने । कृषि पदर्शनीलाई जनप्रतिनिधिले अवलोकन समेत नगरेको उनीहरुको गुनासो छ । महोत्सव स्थलमा महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु राखिएका स्टलहरुमा समेत अवलोकनको लागि जनप्रतिनिधि नआएकोे दुखेसो पोखेका थिए ।

प्रदर्शनीमा राखेका कृषि उपजलाई गाउँपालिकाले दुई दिनमै कृषकलाई जिम्मा लगाएर फर्काएको छ । दुई दिनसम्म आयोजित प्रदर्शनीमा गाउँपालिकाभित्रका भुरुङ–तातोपानी, नारच्याङ, दाना, दोवा र राम्चेका कृषकहरुले उत्पादन गरेको कृषि उपज राखिएको कृषि अधिकृत श्यामराज क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार, प्रदर्शनीमा सुन्तला, लोपउन्मुख सिमी, मकै लगायतका उपज, बन्दा, काउली, फर्सि, तरुल, मुला, लगायतका कृषि उपज पदर्शनीको लागि राखिएको थियो । गाउँपालिकाले पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताको लागि रु २५ लाख बजेट विनियोजन गरेको छ । महोत्सवको लागि लाखौँ बजेट विनियोजन गर्दा महोत्सवमै समावेश गरिएको कृषि पदर्शनीमा कृषि उपज ल्याएका कृषकहरुलाई बेवास्ता गर्नु दुखदायी भएको जनप्रतिनिधिले समेत गुनासो गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले पर्दशनीमा सामाग्री ल्याएका कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम नभएको बताउँदै महोत्सव समापनको अवसरमा सकेसम्म सम्मान गर्ने सोच बनाएको प्रतिकृया दिए । माघ १६ गतेदेखि २१ गतेसम्म आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हेलिकप्टर मार्फत आएर उद्घाटन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button