एक साता विद्यालय बन्द गराएर महोत्सव !

कमल खत्री, पोखरा न्यूज – २० , माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले महोत्सव गर्न करिब एक साता विद्यालय बन्द गराएको छ ।

गाउँपालिकाले आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिताले परीक्षाको मुखमा अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माविको पठनपाठनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ । माघ २२ गतेदेखि विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई एसईई तयारी परिक्षा सञ्चालनको तयारीमा जुटेको अवस्थामा गाउँपालिकाले विद्यालयको होस्टेल रहेको परिसरमा १६ देखि २१ गतेसम्म महोत्सव लगाएपछि पठनपाठन अवरुद्ध भएको हो ।

नारच्याङ माविका विद्यार्थिहरुको होस्टेल रहेको स्थानीय आमा समुहको भवन र युवा क्लबको खेलमैदान परिसरमा गाउँपालिकाले माघ १६ देखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ । होस्टेल रहेको परिसरमा महोत्सव लगाएसंगै होस्टेलका विद्यार्थीहरुलाई अध्ययन गर्ने उचित वातावरण नभएपछि होस्टेल बन्द गरेर घर पठाउन बाध्य भएको विद्यालयले जनाएको छ । होस्टेलमा कक्षा १० तथा ९ कक्षाका इलेक्ट्रिकल इन्जीनियरिङ्ग तर्फका विद्यार्थीहरु बस्दै आएका थिए ।

 

परिक्षाको मुखमा विद्यालयको पठनपाठन रोकिएसंगै विद्यार्थीहरु अलमलमा परेका छन् । ‘‘ परिक्षाको तयारी गर्नुपर्नेछ, विद्यालय बन्द छ, कसरी परिक्षामा सहभागी हुने ?’’– एक विद्यार्थीले प्रश्न गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर गुरुङले परिक्षाको मुखैमा पठनपाठन नै बन्द गर्ने पक्षमा नभए पनि गाउँपालिकाको दबावका कारण विद्यालय बन्द गर्नुपरेको बताए । महोत्सव स्थल विद्यालयको नजिक र होस्टेल परिसरमा रहेकाले विद्यालय बिदा गर्नुको विकल्प नभएको अध्यक्ष गुरुङको भनाई छ । ‘‘ विद्यालय बन्द गर्नु राम्रो होईन, होस्टेल परिसर महोत्सव स्थल छनौट हुनु र परिक्षाको समयमा महोत्सव गर्नु नै विद्यार्थीको हितविपरीत छ ।’’– उनले भने ।

विद्यालयमा यस वर्षदेखि प्राविधिक शिक्षासमेत सुरु भएको छ । महोत्सवका कारण इलेक्ट्रिकल इन्जिनियरिङ्गसहित दुई सय ४० विद्यार्थीको पढाइ प्रभावित भएको छ । विद्यालयका अनुसार, स्थानीय विदाको सबै कोटा यस अघि नै कटौती भैसकेको छ । महोत्सव अवधिमा विद्यालय बन्द हुँदाको क्षतिपूर्ति कसरी गराउने ? गम्भिर पश्न खडा भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । महोत्सव २१ माघसम्म संचालन हुनेछ ।

म्याग्दीमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा स्थानीय तह, राजनीतिक दल, नीजि क्षेत्र र अन्य सरोकारवालाहरुको सहभागीतामा जारी गरिएको मेला तथा महोत्सव सम्बन्धि मापदण्डलाई समेत यस महोत्सवले उलङ्घन गरेको छ । मेला तथा महोत्सव लगाउँदा विद्यालयको पठनपाठनमा प्रभावित गराउन नहुने र शैक्षिक संस्थाको परिसरमा लगाउन नपाईने मापदण्डमा उल्लेख छ । मापदण्ड मिचेर सञ्चालित महोत्सवको उद्घाटनमा मुख्यमन्त्री देखि जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रसाशक, जनप्रतिनिधि र अन्य सरोकारवाला सम्म पुगेपनि यस बिषयमा भने मौन देखिएका छन् ।

यता गाउँपालिकाले भने पूर्व निर्धारित गाउँसभाको निर्णय र समयतालिका अनुसार भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि पर्यटन महोत्सव तथा अध्यक्षकप खेलकुद प्रतियोगिता आयोजना गरिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुवेदीले विद्यालय बन्द गर्न कुनै दबाब नदिईएको र स्थानीय विदालाई उपयोग गर्ने गरि व्यवस्थापन गर्न अनुरोध गरिएको बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button