कोरोनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काममा खासै प्रभाव पारेको छैन : मुनाकर्मी

पोखरा न्यूज – १९ , माघ । चीन यतिबेला कोरोना भाइरसले आक्रान्त छ । विश्वसामु शक्तिशाली राष्ट्रको रुपमा उदाउँदै गरेको चीनमा कोरोना भाइरसको कारण ३ सय बढीले ज्यान गुमाई सकेका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भई रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि २ सय बढी चिनियाँ कामदारहरुले काम गरिरहेका छन् । कोरोना भाइरसले पुरै चीन र  चिनियाँ नागरिक आक्रान्त बने पनि पोखरा विमानस्थलको निर्माण कार्यमा भने खासै प्रभाव नपरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनाकर्मीले बताएका छन् ।

‘विमानस्थल निर्माणमा खासै ठुलो प्रभाव परेको छैन । सामान्य नै छ ।’ उनले भने, ‘अहिले २ सय जना चिनियाँ कामदारले विमानस्थल आयोजनामा काम गरिरहेका छन् ।’ नयाँ वर्ष मनाउने भनेर गएका ४० जना कामदार मध्ये २० जना नफर्किएको उनले बताए । उनीहरुमध्ये नफर्किने खालका २० कामदार छन् । २० जनाको काम सकिइसकेको छ । बाटो ढलान, ब्लास्टिङ र बिल्डिङ भित्रको फिनिसिङको कामको लागि आउनुपर्ने २० सँगै अन्य केही कामदारहरु पनि आउनु पर्ने उनले बताए । आउनुपर्ने २० संगै थप करिब ६५ जना कामदार आउने क्रममा रहेको उनले सुनाए ।

चीनमा कोरोना भाइरसको प्रकोप फैलिए पछि यहाँ पनि संक्रमण देखिने हो कि भन्ने डर रहे पनि त्यसको लागि आफूहरु सजग बनेको उनले बताए । ‘यसको संक्रमण नहोस् भनेर आइसोलेसन रुममा राख्ने भनेर चिनियाँ सरकारलाई चिठी लेखेका छौं,’ उनले भने, ‘कम्पनी र चिनियाँ सरकारले पनि १५ दिन सम्म आउने नयाँ कामदारलाई रुम भित्र बस्ने भनेको छ । अबको १५ दिनपछि नयाँ कामदार आउन सक्छन् ।’

उनीहरुलाई चेकजाँच गरेर मात्र काममा लगाउने उनले बताए । बाटोमा हिडि रहँदा पनि सर्न सक्ने सम्भावना रहने उनले सुनाए । ‘नयाँ आउने कामदारको लागि ५ वटा आइसोलेसनका रुमको व्यवस्था गर्न माग गरेका छौं,’ उनले भने, ‘आइसोलेसन रुम भनेको कसैसँग सम्पर्क नहुने, खाना पनि कोठामा पुर्याइ दिने, सम्पर्कमा नआउने ।’ तीन दिन अघि नौ- दश जना नयाँ कामदार आएको उनले बताए । नयाँ आएका कामदारलाई काममा नलगाएको उनले सुनाए । उनीहरुमा कोरोना भए नभएको चेकजाँच गरि रहेको उनले जानकारी दिए ।

‘बाहिर घुमफिर गर्न दिएका छैनौं । खाना पनि कोठामै पुर्याई दिएका छौं,’ उनले भने, ‘यो त्यति गाह्रो छैन । अब आउन पर्ने २० जना र नयाँ ६५ गरि ८५ जनाको लागि गाह्रो पर्न सक्छ ।’  नयाँ आउँने कामदालाई एकैचोटी ल्याउँदा कोरोनाको संक्रमण रहने सम्भावना रहेको कारणले गर्दा पनि सबै कामदारलाई एकै चोटी नल्याउन भनेका उनले बताए । आएका सबै नयाँ कामदारलाई आइसोलेसन रुममै राख्ने उनले सुनाए । ‘उहाँहरु पनि पोजेटिभ नै हुनुहुन्छ । त्यही अनुसार हामी अघि बढ्दै छौं,’ उनले भने, ‘एक हप्तासम्म आएसोलेसन रुममै राख्छौं । नयाँ आउँने कामदारमा कोरोनाको संक्रमण देखियो भने काममा पठाउँदैनौं । नदेखिए काममा पठाउँछौं ।’ कोरोना भाइरसको चेकजाँज गर्न थप डाक्टरको पनि व्यवस्था गर्ने उनले सुनाए ।

विमानस्थल आयोजनाको लागि थप जग्गा अधिग्रहणको लागि पनि विमानस्थल आयोजना र स्थानीयबीच विवाद चर्किरहेको छ । विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्ने सूचना आए पछि स्थानीय आन्दोलित बनेका हुन् । आयोजना प्रमुख मुनाकर्मीले त्यस विषयमा पनि छलफल चलिरहेको बताए । विमानस्थल आयोजनाको जम्माजम्मी ५४ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।

सन् २०२१ मा उडान सुरु गर्ने लक्ष बोकेर निर्माण कार्य सञ्चालन गरि रहेको आयोजनाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button