तनहुँको घण्टाचुलीमा पर्यटन प्रबर्द्धन गर्न पदयात्रा

पोखरा न्यूज – २१ , माघ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थलको प्रबर्द्धनका लागि तनहुँको देवघाट गाउँपालिकाको आयोजनामा पदयात्रा गरिएको छ ।

देवघाट गाउँपालिकाका–२ स्थित घण्टाचुलीको प्रबर्द्धन गर्ने उद्देश्यसहित जनप्रतिनिधिसहितको टोलीको सहभागितामा पदयात्रा गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा घण्टाचुलीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यसहित पदयात्रा गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । “प्रचुुर सम्भावना भए पनि उक्त ठाउँ ओझेलमा परेकाले त्यस ठाउँलाई उजिल्याउने उद्देश्यले जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागितामा पदयात्रा गरिएको हो”, थापाले भने ।

भ्रमण वर्षका अवसरमा धेरै पर्यटकलाई घण्टाचुलीमा लैजाने लक्ष्य राखिएको छ । देवघाट–१ स्थित बेलस्वाँराबाट शुरु भएको पदयात्रा शिखर, चन्दौली, जामुने, विमलस्वाँरा र घण्टाचुलीमा पुगेर सकिएको थियो । पदयात्रामा गाउँपालिकाका अध्यक्ष थापा, वडा नं १ का सदस्य मनबहादुर गुरुङ, इञ्जिनीयर तीर्थराज ढुङ्गाना, राष्ट्रिय जनजाति महासङ्घका अध्यक्ष रुमकुमार थापालगायत सहभागी थिए ।

देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुद्र सतहदेखि एक हजार ६३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्त्विक महत्व बोकेको सो ठाउँमा राजदरबार, राजगद्दी र चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ । दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित सो ठाउँमा लालीगुराँस ढकमक्क फुलेको देख्न सकिन्छ ।

सो ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने घण्टाचुली पर्यटन क्षेत्र विकास संस्थाका अध्यक्ष खड्ग आले मगरले बताए । उनका अनुसार सो ठाउँबाट हिमशृङ्खलाका मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ । समितिले घण्टाचुलीको प्रचारप्रसारका लागि बेलाबेलामा महोत्सव पनि गर्दै आएको छ ।

“धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस ठाउँको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन”, मगरले भने, “पर्यटकीय गन्तव्यका रुपमा विकास हुनुपर्ने ठाउँ ओझेलमा परेको महसुस गरेका छौँ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button