कोरोना भाइरस संक्रमितको सङ्ख्या २० हजार नाघ्यो

पोखरा न्यूज – २१ , माघ । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २० हजार नाघेको छ । भाइरसबाट हालसम्म ४ सय २७ जनाको मृत्यु पनि भइसकेको छ ।

भाइरस संक्रमण शुरु भएयता कै सबैभन्दा खराब मानिएको हिजोको दिनमा ३ हजार २ सय ३५ नयाँ बिरामीमा भाइरस देखिएको थियो भने ६५ जनाको मृत्यु भएको थियो । भाइरसबाट मृत्यु हुनेको संख्या बढेसँगै भाइरसको मृत्युदर पनि २.१ प्रतिशत पुगेको जनाइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य कमिसनका अनुसार मृतक मध्ये ८० प्रतिशतको उमेर ६० भन्दा बढी रहेको तथा ७५ प्रतिशतमा पहिले देखि नै अन्य कुनै स्वास्थ्य सम्बन्धी समस्या रहेको थियो । चीन बाहिर भने हालसम्म २५ देशमा १९० जनामा संक्रमण देखिएको छ जसमध्ये दुई जनाको मृत्यु भइसकेको छ । भाइरसबाट चीन बाहिर मृत्यु हुनेमा एक फिलिपिन्स तथा एक हङकङबाट रहेका छन् ।

हुबेई प्रान्तको वुहानमा तीन महिना अघि पहिलोपटक देखिएको भाइरस अझै नियन्त्रणमा आउन सकेको छैन । भाइरसको खोप पनि तयार नहुँदा भाइरसबाट आउने दिनमा अझै थुप्रैको मृत्यु हुने अनुमान गरिएको छ । भाइरसको डरले चीनको कैयौं शहर बन्द जस्तै छन् भने त्यहाँको अर्थतन्त्रमा पनि ठूलो प्रभाव परेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button