मुस्ताङमा कोरोनाको चिन्ता छैन

पोखरा न्यूज – २२ , माघ । छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

उहाँका अनुसार बाक्लो हिमपातका कारण उत्तरी मुस्ताङमा दुई सातादेखि आवतजावतसमेत ठप्प छ । उत्तरी मुस्ताङ र तिब्बत जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिमपातका कारण सडक यातयात पूरै ठप्प भएको हो । कोरल्ला नाकासमेत पूर्णरूपमा बन्द भएका कारण छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको प्रभावसमेत परेको छैन । उत्तरी मुस्ताङलाई जोड्ने कालीगण्डकी करिडोरमा बाक्लो हिउँ जमेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ्गसम्मको हिउँ सफा गरिएको प्रजिअ अर्यालले बताए ।

लोमान्थाङ गाउँपालिकामा भने हिउँ पन्छाउने काम हुनसकेको छैन । कालीगण्डकी नदीमा समेत बाक्लो हिउँ जमेपछि खोलैखोला सञ्चालन हुने यातयातसमेत बन्द छ । “कालीगण्डकी करिडोरमा जमेको हिउँ हटाउने सम्भावना तत्काललाई छैन”, प्रजिअ अर्यालले भने, “कालीगण्डकी नदीमा खोलैखोला हिउँ सफा गरेर सडक यातयात सञ्चालन गर्ने प्रयास भइरहेको छ ।”

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले चराङ्गसम्मको हिउँ सफा गरिसकेको र चराङ्गदेखि माथिल्लो क्षेत्रको हिउँ लोमान्थाङ गाउँपालिकाले सफा गर्ने सहमति भएको छ । गाउँपालिकाले एक/दुई दिनभित्र हिउँ सफा गरेर सडक सञ्चालन गर्ने तयारीमा रहेको प्रजिअ अर्यालले बताए  ।

जाडो शुरु भएपछि मुस्ताङी बेँसी झर्ने गर्दछन् । सिङ्गो लोमान्थाङ गाउँपालिकाभर १ सय  भन्दा बढी मानिस जाडोयाममा बसेका छैनन् । भेडा, च्याङ्ग्रा र घर कुर्नका लागि केही मानिस बसे पनि सबै बेँसीमा झरेका छन् । कोरल्ला नाकासमेत बन्द भएका कारण कोरोना भाइरसको समेत प्रभाव परेको छैन । “मानिस प्रायः घर बाहिर ननस्किने र सीमामा दोहोरो आवतजावतसमेत नरहेका कारण कोरोनाको प्रभाव छैन”, प्रजिअ अर्यालले भने ।

यसैबीच प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिक्षेत्रमा शनिबार सुरक्षाकर्मीलगायतले सरसफाइ तथा हिउँ पन्छाउने काम गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सैनिक उच्चशिखर शिक्षालयका सैनिक जवान, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक चेकपोष्ट र स्थानीयवासीलगायतबाट मुक्तिनाथको पहिलोद्वारदेखि मन्दिर परिसरको बाटोमा थुप्रिएको हिउँ पन्छाइएको हो । लगातार तीनपटक परेको हिमपातले मुक्तिनाथ रानीपौवा बजारदेखि मुक्तिनाथद्वारसम्मको करीव दुई किलोमिटर पैदल बाटोमा दुई फिट हिउँ जमेपछि तीर्थालुलाई मन्दिर पुग्न कठिनाइ परेको थियो ।

रानीपौवा बजारदेखि मुक्तिनाथसम्मको दूरीमा बाक्लो हिउँ जमेकाले मुक्तिनाथ दर्शन गर्ने तीर्थालुलाई असहज हुँदै आएको थियो । बजारबाट मन्दिर जाने जीर्ण उकालो बाटो त्यसमाथि हिउँको चापले स्वदेशी तीर्थालुभन्दा भारतीय तीर्थालुलाई बढी समस्या पर्दै आइरहेको थियो । बाँक्लो हिउँमा पैदलयात्रा गर्दा तीर्थालुलाई लडेर चोटपटक लाग्ने गथ्र्यो । हिउँले भरिएको पैदलमार्गमा स्थानीयवासीले तीर्थालुलाई बोकर वा स्ट्रेचरमा राखेर लाने र ल्याउने गरेका थिए । सुरक्षाकर्मीले बाटोको हिउँ पन्छाएपछि तीर्थालुलाई अब आउजाउमा केही सजिलो भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button