पोखरामा कुखुराको मासुको मुल्य अहिलेसम्मकै उच्च

दीननाथ बराल, पोखरा न्यूज – २४, माघ । देशका अन्य शहर भन्दा पोखरा आफैमा महँगो  शहरको रुपमा स्थापित भइ रहँदा कुखुराको मासुमा पनि अन्य शहर भन्दा केही महङगोमा बिक्रि वितरण भइरहेको छ । पोखरामा यति बेला बोइलर कुखुराको मासुको मुल्य अहिलेसम्मकै उच्च कायम भएको छ  ।

यस अघि पोखरामा प्रति केजी ४ सय ४० रुपैयासम्म पुगेको बोइलरको मासुको मुल्य हिजोआज पोखरामा प्रति केजी ४ सय ६० रुपैयासम्म पुगेको छ । कुखुराको मासु कम उत्पादन हुने समय पुष र माघ महिनालाई लिने गरिन्छ भने यस महिनामा माग भने बढ्दो हुने गरेको हुन्छ ।

यस बर्ष ह्याचरी संघले मंंसिर २६ देखि पुष ११ गतेसम्म देशका अधिकांश ठाउँमा कुखुराका चल्ला वितरण नगरेसंगै हाल पोखरासहित देशका धेरै ठाउँमा कुखुराको मासुमा मुल्य वृद्धि भएसंगै आम उपभोक्ताले माग अनुसारको मासु प्राप्त गर्न सकेका छैनन्। व्यवसायीहरुले मनपरी ढंगले कुखुराको मासुमा मुल्य वृद्धि गर्दा यसलाई नियन्त्रण गर्ने निकाय मौन बस्दा आम उपभोक्ता मारमा परेकाछन्।

केही समय ह्याचरीले चल्ला किसानलाई नदिदा हाल बजारमा कुखुराको मासु अभाव भएको पोल्टी व्यवसायी संघ कास्कीका अध्यक्ष गुरुप्रसाद पौडेलले बताए । उनले भने “ हाल बजारमा देखिएको कुखुराको मासुको अभाव यो वैशाखसम्म रहने छ, दाना, चल्लाको मुल्य वृद्धि भएसंगै कुखुराको मासुमा मुल्य वृद्धि हुनु स्वभाविक हो ।”

देशका अन्य ठाउँमा भन्दा पोखरामा गुणस्तरिय मासु उपलब्ध हुने भएकाले केही महङगो हुन गएको अध्यक्ष पौडेलले जनाए । पोखरामा घाँटी, पुच्छर, बोसो, खुट्टा रहित स्पेशस मासु उपलब्ध हुने हुँदा हाल स्पेशस मासुको मुल्य ४ सय ६० रुपैया रहेको उनले जनाए । होल चिकेनको प्रति केजी भने ४ सय ३० रहेको अध्यक्ष पौडेलले बताए ।

पोखरामा हाल कोल्ड स्टोरमा राखेको कुखुराको मासु बिक्रि भएकाले गर्दा केही सहज भएको संघका सचिव सुर्य प्रसाद पौडेलले बताए । उनका अनुसार पोखरा क्षेत्रमा हाल दैनिक जसो २० हजार केजी कुखुराको मासुको अभाव भएको छ । पोखरामा दैनिक जसो ५० हजार केजी कुखुराको मासु खपत हुँदै आएको छ भने हाल दैनिक जसो मुस्किलले ३० हजार केजी मासु बिक्रि हुने गरेको सचिव पौडेलले जनाए ।

पोखरामा अझै कुखुराको मासु सहज हुन करिब १० दिन लाग्ने भएको मासु व्यावसयी संघ कास्कीका अध्यक्ष गोविन्द तिवारीले बताए । १८ दिनसम्म ह्याचरीले कुखुराका चल्ला वितचरण नगरेकाले बजारमा कुखुराको मासु अभाव भएसंगै मुल्यमा समेत  वृद्धि भएको उनले जनाए । जाडो मौसममा धेरै कुखुरा मर्ने समस्याले गर्दा हरेक बर्ष पुष र मागमा कुखुराको मासु उत्पादन कमी हुने गरेको अध्यक्ष तिवारीले जनाए ।

आगामी फागुनको दोस्रो सातादेखि कुखुराको मासु बजारमा सहज रुपमा उपलब्ध भएसंगै मुल्यमा केही कमी आउने भएको नेपाल कुखुरा पालक किसान संघ कास्की शाखाका अध्यक्ष यज्ञ प्रसाद गुरुङले बताए । किसानको लागत मुल्य बढी भएको हुँदा  हाल बजारमा कुखुराको मुल्यमा भारी वृद्धि  भएको उनले बताए । काठमाण्डौं र चितवनको भन्दा पोखरामा ढुवानी बढी हुने  हुँदा  मुल्यमा केही महङगो हुने गरेको अध्यक्ष गुरुङले जनाए । उनका अनुसार कास्की क्षेत्रमा हाल १ हजार ५ सय कुखुरा पालक किसानछन भने एक हजार जसो मौसमी कुखुरा पालक किसानहरु रहेकाछन्।

केही समय अघि पोखरामा कुखुराको मासु प्रति केजी ३ सय ८० रुपैया रहेको थियो । हाल पोखरामा जिउँदो कुखुराको मुल्य २ सय ८० रुपैया रहेको छ भने किसानले यसमा प्रति केजी २ सय ६० रुपैया प्राप्त गर्ने छन्। पोखरामा प्रति अण्डाको मुल्य १५ रुपैया रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button