‘सुर-साधना’मा नेपाली पप गीत सुन्दै दर्शक रमे

राजाराम पौडेल, पोखरा न्यूज – २६ , माघ । पोखरामा शनिबार नेपाली पप गीतको तालमा दर्शक रमे । पोखरा थिएटरको गान्धर्व नाटकघरमा आयोजित ‘सुर–साधना’ कार्यक्रमको छैटौ श्रृखलामा नेपाली पप गीत सुन्दै रम्ने अवसर मिलाइएको हो ।

पोखरा थिएटर, संगीत प्रशिक्षण केन्द्र तथा कला क्याफेको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो । कार्यक्रममा अग्रज तथा अनुज कलाकारले आफ्नो प्रस्तुती राख्दै माहोल संगीतमय बनाए ।

यसरी प्रस्तुती राख्नेमा जय चापागाई, सुनिल बराल, टिना गुरुङ, पुर्णिमा घताने, ममता अधिकारी, लक्ष्मण तामाङ, पारस नेपाली, ऋचा सुवेदी, प्रथम तामाङ थिए । उनीहरुलाई संगीतमा सुनिल घले, रोम तामाङ, सुनिल बराल र जय चापागाईले साथ दिए । यसरी उनीहरुले प्रस्तुती राख्दा उपस्थित दर्शकले सर्पोट गरे ।

सुर–साधना अनतर्गत यसअगाडि शास्त्रिय गायन, पुराना सर्जकका गीत, मालश्री गायन, आफ्नै र्सजनामा पोखरेली संगीत, लोक लयमा आधारित गीत गरी पाँच श्रृखला सम्पन्न गरिएको र छैटौ श्रृखलापनि संगीतप्रेमीको सहभागीता सम्पन्न भएको कार्यक्रम संयोजक रोम तामाङले बताए । गायक एमडी काफ्लेको सभापतित्वमा भएको कार्यक्रम संगीतकर्मी श्यामलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

सुर–साधना कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना हुँदै आएको छ । संगीतको उत्थानको लागि आयोजित यो कार्यक्रम नयाँ प्रतिभाको लागि अवसर हुने गरेको छ । कार्यक्रमलाई निरन्तर रुपमा आयोजना गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

पोखराको साँगीतिक माहोललाई अगाडी बढाउदै नयाँ पुस्ताको आर्कषण संगीत क्षेत्रमा थप्ने यो कार्यक्रमले सघाउने आयोजकको विश्वास छ । निःशुल्क रुपमा प्रवेश गरी संगीतको धुन सुन्दै रमाउने अवसर यहाँ मिल्नेछ । नयाँ प्रतिभाले आफ्नो प्रतिभा सुनाउन समेत पाउनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button