भ्यालेन्टाइन डे : लोकल प्रेमलाई आयातित पर्व !

अमरदेब बास्तोला – २६ , माघ ।  प्रेमको परिभाषा र व्याख्या गर्न सायद शब्दहरु आफैंमा अपूर्ण छन् या अपर्याप्त छन् ।

त्यसैले नै असमर्थ छन् विद्वान देखी बैज्ञानिक सम्म पनि प्रेम र यसलाई परिभाषित गर्न । जो जसले प्रेमलाई फरक फरक ढंगले व्याख्या गरे पनि शब्दकोशले बोल्ने प्रेमको पर्यायवाची शब्दहरु जोडेर हेरौँ । प्रेम अनुराग हो, अनुरक्ति हो, प्रणय हो, प्रीति हो, चाह हो, स्नेह हो, वात्सल्य हो, माया हो, ममत्व हो, अपनत्व हो, हर्ष र खुसी हो।

यस्तै कैंयौ शब्दहरु छन् जो प्रेमको समानार्थक शब्द हुन्। त अब मनन गरौं कि यति बहुव्यापी र बहुमूल्य प्रेमको वजन कति हुनुपर्छ ! अवश्य यो मापदण्डको दायरा भन्दा बाहिरको कुरा हो भने यस अर्थमा फ्रेब्रुअरी १४ मा विश्वब्यापी रुपमा मनाइने प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेले हाम्रो समाजलाई वर्तमान परिप्रेक्षमा कस्तो प्रभाव पारेको छ त ? भन्ने कुराबाट विषयवस्तुमा प्रवेश गरौँ ।

नेपाल एक धार्मिक सहिष्णुता देश भएको कारणले नै हामी एउटै समाजमा विध्यमान विविध देवी देवताहरुलाई अङ्गालेर, संस्कृति, परम्परा, चाड पर्व साटेर, प्रसाद बाँडेर जीवनयापन गर्छौं भने हाम्रो यो प्रेम प्रचलन भन्दा गहिरो र घनिष्ठता अरु के हुन सक्छ ? र यही सहिष्णुता नै हामी नेपालीहरुको विशेषता हो । त्यसैले त पश्चिमी संस्कृतिबाट भित्रिएका संस्कारहरुलाई पनि अगिंकार गरेर स्वीकार गर्दै र मनाउदै आएका छौँ ।

तर यही दौरान पश्चिमी संस्कृति बाट भित्रिएको प्रणय दिवस आजको समयसम्म आई पुग्दा आधुनिकता सँगै हाम्रो संस्कृति र समाजले पचाउन नसक्ने अप्राकृतिक भोजन जस्तै बनेको मात्र छैन साथै विकृति विसंगतिहरु मौलाएर हामी हाम्रो समाज र पवित्र प्रेमको धज्जी उडाएको जस्तो भान भएको छ ।

भ्यालेन्टाइन डे डे मा सिमित नरहेर भ्यालेन्टाईन विक भएको छ र आजका टिनएजर्सहरु फ्रेब्रुअरी ७ देखि नै “रोज डे, प्रपोज डे, चकलेट डे, ट्याड्डी डे, प्रमिस डे, किस डे, हग डे हुदै भ्यालेन्टाईन डे ” गरि पुरै सप्ताहमा परिणत गरि मनाउदै आएका छन् । यही गतिले हामी बहकिंदै गयौं भने हाम्रा सन्ततिले भविष्यमा हाम्रो संस्कृतिकै प्राण मानिने, महापुराण, सप्ताह र यज्ञको पर्यायवाची शब्द भ्यालेन्टाईन डे भनेर भन्न बेर नलाग्ने कुरामा द्विबिधा रहदैन । र यसको प्रमाण होली वाइनले संसद भित्र छिरेर दिएको छ । प्रेमको आफ्नै वास्तविक रुप हुन्छ । जुन शुद्ध हुन्छ, निःस्वार्थ हुन्छ, बेसर्त हुन्छ र पूर्ण रुपमा समर्पित हुन्छ त्यसैले प्रेम अहंकार विहीन हुन्छ, औकात हेर्दैन, जातभात देख्दैन ।

भ्यालेन्टाईन डे के हो ? भन्ने बारे भन्दा पनि यसले हाम्रो समाज र संस्कृतिमा के कस्तो असर गरेको छ यस तर्फ लागौँ । प्रथमत यो प्रेम दिवस प्रतिको विरोध नभएर मनाउने शैली र यसले निम्त्याएको रोग र त्यसको प्रतिरोध गर्नु पर्छ भन्ने धारणा बुझौं । के हाम्रो पूर्विय संस्कृति प्रेम र सद्भावमा गरीब छ ? हामी र हाम्रो संस्कृतिलाई पाश्चात्य संस्कृतिले अपनाएको प्रेम गर्ने तौर-तरिकाहरु अनुकरण गर्नु पर्ने कुनै कारण छ र ? शास्त्रमा तपोवन भनेर प्रचलित हाम्रो देश नेपालको माटोको कण कणमा र हामी सबैको रक्त प्रवाहमा नै प्रेमको सुगन्ध छ भने प्रेमको बहानामा अश्लीलता बाँडिनु कुनै पनि अर्थमा आधुनिक प्रेम गर्ने शैली भने किमार्थ हुन सक्दैन।

कतिपय कुराहरु आधुनिक भन्दा प्राचीन कुराहरु नै सुन्दर हुन्छन् किनकी प्राचीनतामा नै हाम्रो पहिचान छ । त्यही प्राचीनता र विविधताको शिरमा सगरमाथाको टोपी ओडेको हाम्रो देश विश्व बजारमा आफैंमा उत्कृष्ट छ । हाम्रो सांस्कृतिक विविधता नै हाम्रो विशेषता हो र संसारमै पृथक मानिन्छ । यस अर्थमा हाम्रो आफ्नै विविधता र संस्कृतिमा हाम्रो देश कुवेरको खजाना जस्तै छ भने हामीले आधुनिकताको नाउँमा अरु कसैको संस्कृति सापट लिनु भनेको विकृति संगसगै कालन्तरमा विनाश भित्र्याउनु जस्तै हो।

त्यसैले जाने माया नजाने घाम छाँया भन्ने त उखान नै छ । अब आउनुहोस् अन्त्यमा प्रेमको रंग पत्ता लगाएर कुरोको चुरोको बिट मारौँ । प्रेमको कस्तो होला ? कल्पना गर्नुहोस् त, प्रेम सफल रहे जीवन मधुमय हुन्छ । सधैं हराभरा हुन्छ । रंगीन हुन्छ । बिफल रहे जीवन फिका हुन्छ । अन्धकार हुन्छ । हुन सक्छ चितामा लेटाउन पनि सक्छ । अन्ततः प्रेम खरानी हुन सक्छ, कालो धुवाँ हुनसक्छ।

त्यसैले आउदो भ्यालेन्टाइन डेमा आफ्नो भ्यालु नगुमाउनु होला । प्रेम मात्रै नगर्नुहोला, प्रेमको इज्जत पनि राख्नुहोला । अनि साताव्यापी अभियानमा मात्रै प्रेमलाई सीमित नगर्नुहोला, जुग जुगान्तर बाँच्ने प्रेममा रङ्गिनुहोला । यही नै हाम्रो भ्यालेन्टाइनको लोकल शैली हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button