गिट्टी कुटेर पढाइ खर्च धान्दै बालबालिका

हेमन्त केसी– २६ , माघ ।  जाजरकोटको भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिहेकी छन  । उनी सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने काममा लागिरहेकी छन  । तीन छोरा, छोरीकी आमा भइसकेकी उनी गिट्टी कुट्ने ठाउँका कहिले शिशुलाई च्यापेर, त कहिले चिसो भुइँमा राखेर काम गरिहरहेकी छन । उनका श्रीमान् प्रेम खड्का पनि सडकका पर्खाल लगाउने काम गर्छन ।

जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत खलङ्गा पाँचकाटिया सडकको ग्राभेलको काम अहिले जारी छ । “पढ्दापढ्दै छाडियो, अहिले गिट्टी कुटेर छोराछोरीसहित घरपरिवार चलाउनुपर्छ के गर्नु” लक्ष्मीले भनिन । उनीजस्तै अर्की ४० वर्षीया भीमकुमारी खड्का चार छोराछोरीको पढाइका लागि गिट्टी कुटिरहेकी छन  । “कुनै राजगारी छैन, यही गिट्टी कुटेर सबै परिवार पाल्नुपर्छ”, उनले भनिन, “छोरीहरु स्थानीय विद्यालयमा कक्षा ५ र ६ मा पढ्छन्, पढाइ खर्चका लागि भए पनि गिट्टीको सहारा लिएको छु, यसमै काम गने ठेकेदारले समयमा पैसा दिँदैनन् ।”

सोही सडक खण्डमा शङ्कर भवन मावि बाहुनथानामा कक्षा २ मा अध्ययनत् चन्द्रा घर्तीले बिहान–बेलुका गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । बिहान ७ बजे सडकछेउमा हथौडा र ढुङ्गाको भारी खातमा हाजिर हुने उनी साढे ९ बजे विद्यालय पुग्छिन् । उनी अपराह्न ३ बजेपछि पुनः गिट्टी कुट्न आउने गर्दछिन् । उनीसँगै कक्षा १ मा पढ्ने रुपेश पुन र कक्षा २ मा पढ्ने अस्मित पुन खर्चकै लागि गिट्टी कुट्दै आएका छन् । उनीहरुले दैनिक गिट्टी कुटेर बिक्री गरी पढाई खर्च जुटाउँदै आएका छन्

घरमा आमा बाबाले कपडा सिलाउनुहुन्छ, हामी गिट्टी कुट्छौँ उनीहरुले भने । कक्षा ६ मा पढ्ने सिर्जना परियार र उनकी बहिनी कक्षा २ मा पढ्ने रोशनी परियारसँगै गिट्टी कुट्दैछन् । उनीहरु पनि दैनिक बिहान र बेलुका गिट्टी कुट्छन्, दिउँसो विद्यालय पढ्छन् । यसरी यहाँका अधिकांश जनजाति र दलित समुदायको जीवनयापन चलिरहेको छ ।

अर्थाभावका कारण अधिकांश बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकसमेत अर्थोपार्जनका लागि गिट्टीकै सहारा लिइरहेका छन् । छोरा, बुहारीले राम्रो गरेनन्, पेट पाल्नै पर्यो, मर्न सकिँदैन भन्दै गहँभरि आँसु झार्दै भेरी नपा–२ की ६२ वर्षीया छिता परियारले भनिन, “छोरीको बच्चा बोकेर गिट्टी कुट्न आएकी छु, घरमा छोरा र बुहारीले हेला गर्छन्, एक्लै बस्छु बाँच्नका लागि गिट्टी कुट्दैछु ।”

उनीहरुजस्तै अहिले जाजरकोट–खलङ्गादेखि पाँचकाटियासम्मको सडक निर्माण हुँदै गर्दा दर्जनौं स्थानीयवासी गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका छन् । अधिकांश ज्येष्ठ नागरिक र बालबालिका गिट्टी कुटिरहेका छन् । गिट्टी ठेकेदारले लिए पनि समयमा पैसा नदिएका कारण समस्यमा पर्दै आएको उनीहरुको गुनासो छ । गिट्टी कुटेर समयमै पैसा पाएको भए घरमा नुनतेल र खाद्यान्न खरीद गरेर दैनिक घर खर्च टार्न सजिलो हुने उनीहरुको भनाइ छ ।

सो सडकखण्डमा मात्र होइन, जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न भागमा समेत गिट्टी कुटेर दैनिक गुजारा चलाउनको सङ्ख्या ठूलो छ । वैकल्पिक पेशा नभएका स्थानीयवासी तथा भारतसँगै अन्य मुलुक रोजगारीका लागि नगएकाहरु गिट्टी कुट्ने काममा व्यस्त भएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button