पोखरा थिएटरको २ वर्ष, कुल ४७ नाटक मञ्चन

राजाराम पौडेल, पोखरा न्यूज – ०२ ,फागुन ।  पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दूई वर्ष पुरा भएको छ । पोखरा थिएटरको औपचारिक उद्घाटन २०७४ फागुन २ गते भएको थियो । दूई वर्षको वर्षको अवधिमा यहाँ विभिन्न ४७ वटा नाटक मञ्चन भए । जसमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतीका १० नाटक रहेका छन् ।

पहिलो वर्ष मञ्चन भए २३ नाट

पोखरा थिएटरद्धारा सञ्चालित गन्धर्व नाटकघरको उद्घाटन २०७४ साल फागुन २ गते भएको थियो । नाटकघरमा पहिलो वर्ष २३ वटा नाटक मञ्चन भएका थिए । उद्घाटनको दिनदेखि फागुन १५ गते सम्म सरुभक्त श्रेष्ठको लेखन र सोमनाथ खनालको निर्देशनमा नाटक सिरुमारानी मञ्चन भयो । सिरुमारानी पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएपछिको पहिलो मञ्चन भएको नाटक हो । जसलाई पोखरा थिएटरले आफ्नै प्रस्तुतीमा मञ्चन गरेको थियो ।

सोही वर्ष फागुन २६ र २७ गते अर्जेन्टिनाको नाटक मान्द्रागोरा सर्कस देखाइयो । विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत्र ८ देखि १५ गतेसम्म राष्ट्रिय नाटक महोत्सवको आयोजना समेत पोखरा थिटरको गन्धर्व नाटकघरमा भयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा भएको राष्ट्रिय नाटक महोत्सवमा १० नाटक मञ्चन गरियो ।

 

महोत्सवमा एक्टर्स स्टुडियोको प्रस्तुतीमा अनुप बरालले निर्देशन गरेको नाटक थाङ्गला, मण्डला थिएटरको प्रस्तुतीमा राजन खतीवडाद्धारा निर्देशित नाटक एन्टिगोनी, नेशनल आर्ट स्कुल पोखराको प्रस्तुतिमा ममता मञ्जुलको निर्देशनमा सान्नानीको सन्ते राजा, युथ क्रियशन थिएटर पोखराको प्रस्तुतीमा सौगात पोखरेलले निर्देशिन भर्जिन कथा, राष्ट्रिय नाचघर काठमाण्डौको प्रस्तुतिमा विरेन्द्र हमालको निर्देशनमा एक चिहान, हिमाली साँस्कृतिक परिवार पोखराको प्रस्तुतिमा मेनकाजी गुरुङको निर्देशनमा नारी शिक्षा, सद्भाभ थिएटर काठमाण्डौको प्रस्तुतिमा टिकाभक्त जिरेलको निर्देशनमा चाँदिको घेरा, मञ्जरी नाट्य समुहको लमजुङको प्रस्तुतिमा पुरु लम्सालद्धारा निर्देशित पानिघट्ट, ओथेलो नाटक समुह पोखराको प्रस्तुतीमा आशिष अधिकारीद्धार निर्देशित जयगान, लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्तुतिमा युवराज घिमिरेको निर्देशनमा सखि र मैथिली भाषाको नाटक ‘कथा नही भेटल’ मञ्चन भएको थियो ।

२०७५ बैशाख १ गते शनिबारबाट पोखरामा नाटक जिउँदो आकाश मञ्चन भयो । आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका थिए । २०७५ जेठ ३ गतेबाट पोखरा थिएटरकै प्रस्तुतीमा नाटक बितेका कुरा मञ्चन भयो । कलाकार नाजिर हुसेनद्धारा परिकल्पना र निर्देशन गरेको नाटक कुरुप हाँस २०७५ असार १ गतेबाट मञ्चन गरियो । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा नाटक अटलबहादुरको आतकं मञ्चन २०७५ को साउन ७ गतेबाट भयो । नाटक खबर हराएको चिठी भाद्र ८ गते मञ्चन गरिएको थियो । २०७५ को आश्विन महिनामा बुधबारेमा फल्प मंगलबारेमा हीट नाटक मञ्चन भएको थियो ।

 

२०७५ कै कार्तिक ३० गतेबाट अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्टको निर्देशनमा अ प्लेस इन माई हर्ट नाटक मञ्चन भएको थियो । २०७५ पौष २७ गतेबाट नाटक निरमाया मञ्चन भयो । यो पोखरा थिएटरकै प्रस्तुतीको नाटक थियो । पहिलो वर्ष नै पोखरा थिएटरको गन्धर्व  नाटकघरमा बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक मिस्टर फक्स एण्ड दी स्कुल व्वाई मञ्चन गरियो ।

दोस्रो वर्ष मञ्चन भए २४ नाटक

पहिलो वर्षनै दर्शकको माया तथा रंगकर्मीको साथका कारण पोखरेली रंगमञ्चमा सकारात्मक तरगं ल्याउदाँ उत्साहित बनेको पोखरा थिएटरले दोस्रो वर्षमा पनि आफ्नो क्रियाशिलता बढायो । दोस्रो वर्षमा कुल २४ नाटक मञ्चन भए । जुन अघिल्लो वर्षको भन्दा बढी हो । यो वर्ष गरिएका अन्तराष्ट्रिय नाटक महोत्सव र महानगर स्तरिय नाटक महोत्सवले पोखरेली रंगमञ्चमा थप उत्साह थपिदियो । नयाँ पुस्ताको आर्कषण नाट्य क्षेत्रमा ल्याउन थिएटरले कार्यशाला र नाटक मञ्चनलाई लगातार सञ्चालन गरिरह्यो ।

यो वर्ष नाट्य क्षेत्रमा नयाँ पुस्ताको आगमन गर्नको लागि विभिन्न कार्यक्रमको आयोजना गरियो । जसले नयाँ पुस्ता, पुराना पुराना पुस्ता र युवा पुस्ता सबैको ध्यान रंगमञ्च तर्फ मोडिन सघाएको छ । दोस्रो वर्षको सुरुवातमै अन्तराष्ट्रिय नाटक महोत्सवको आयोजना गरियो । जहाँ मञ्चन भएका नाटकमा ब्ल्याक एण्ड ह््वाइट, इन ट्रान्जीट, लव एण्ड लाइफ, प्राइभेट कन्फेन्सन, मेमोरी यार्ड, गैडा टाइम्स र घेरो थिए । नाटक बाकस, तिर्खा, मरो वचपनको साथी, योनिका कथाहरु, एक चिहान, उ मरेकी छैन, प्राइभेट इज पोलीटिकल, मुना मदन दोस्रो वर्ष मञ्चन भएका नाटक हुन् ।

दोस्रो वर्ष आयोजना गरिएको महानगरस्तरिय विद्यालय नाटक महोत्सवमा कोहि किन बरबाद होस्, ऐना, गलबन्दी, गीती नाटक मुना मदन, मेरो बचपनको साथी, आधा मरेका सन्तानहरु, आह्वान, डाँडाखेत र मित्रतामा धोका मञ्चन भए । दोस्रो वर्ष भएका साँस्कृतिक झाँकिको प्रर्दशन, फोटो प्रर्दशनी, अन्र्तक्रिया लगायतका कार्यक्रमले पोखराको रंगमञ्च क्षेत्रमा उर्जा थप्यो । दोस्रो वर्ष ३० हजार दर्शकको आगमनमा पोखरा थिएटरमा भएको थिएटर अध्यक्ष परिवर्तनले जनाए ।

पोखरा थिएटरमा रंगकर्मी अनुप बरालको प्रशिक्षण अभिनय कार्यशाला हुनु, नाटक मञ्चनका अतिरिक्त विभिन्न कार्यक्रमको आयोजना गर्दै पोखरा थिएटरले आफ्नो यात्रालाई मजबुत बनाउने प्रयास गरिरहेको छ । सुगम संगीत सम्बन्धि कार्यक्रम, फिल्म समिक्षा कार्यक्रम समेत तहाँ हुन थालेका छन् । थिएटरकै कलाकारले विभिन्न विद्यालयमा अभिनय कक्षा मार्फत रंगमञ्चमा नयाँ पुस्ताको आर्कषण थप्ने कार्यलाई तिव्रता दिइरहेको थिएटर अध्यक्ष परिवर्तनले बताए । बालबालिका तथा अन्य रंगकर्ममा लाग्न चाहनेको लागि निरन्तर अभिनय कार्यशाला हुँदा अभिनय क्षेत्रमा अगाडि बढ्न खोज्नेमा उत्साह ल्याइदिएको छ ।

फागुन ९ गतेबाट यो कस्तो महाभारत नाटक मञ्चन गरिने

पोखरामा आगामी फागुन ९ गतेदेखि नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने भएको छ । दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेशको अवसरमा मञ्चन हुन लागेको यो नाटक पोखरा थिएटरको ११ औँ प्रस्तुतीमा मञ्चन गरिन लागेको हो । नाटक मञ्चनको लागि यतिबेला रिर्हसल भइरहेको छ । दिपक पराजुलीले लेखेको नाटकलाई पंच सुब्बा गुरुङले परिकल्पना तथा निर्देशन गर्दैछन् । गुरुङको यो डेब्यु निर्देशन हो । उनीसँग यस अगाडी सह–निर्देशन र कलाकार भएर काम गरेको अनुभव छ ।

नाटकमा निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमिल्सेना, राजेन्द्र अधिकारी, सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल, देवेन्द्र चोचाङगी मगर, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे, धनकाजी श्रेष्ठ, नबराज गिरी,बिष्णुराज तिमील्सीना आदी कलाकारको अभिनय हेर्न पाइनेछ । झण्डै एकघण्टाको यस नाटकलाई उत्कृष्ट बनाउने प्रयासमा निर्देशक र कलाकार यतिबेला जुटिरहेका छन् । तेस्रो वर्षलाई पनि महत्वपुर्ण बनाउन थिएटरले काम गर्ने सञ्चालक मध्येका एक दिल प्रसाद गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button