पुस्तकको पाना च्यात्ने कि दिमागको जालो

जापान  । जसरी समाज र साहित्यबीचको परस्पर सम्बन्धविच्छेद गर्न सकिदैँन, ठीक त्यसै प्रकारले नारी र धर्मबीचको घनिष्ठता पनि शास्त्रीय काल देखि नै रहि आएको छ । शास्त्र बिना नारी र नारी बिना शास्त्र कहिल्यै पुर्ण हुन सक्दैनन् । शास्त्र पल्टाएर हेरौँ, इतिहास पल्टाएर हेरौँ अनि विश्लेषण गरौँ शास्त्रलाई काखी च्यापेर बनेको धर्मले नारीलाई कुन स्थान र सम्मान अनि कस्तो सन्देश दियो ।

सबल पक्षबाट सुरुवात गरौँ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” एकै वाक्यबाट प्रस्ट हुन्छ की प्राचीन काल देखि नै स्त्रीको मातृत्व रुप र गौरवको कति उच्च थियो । वैदिक कालदेखि नै नारीलाई शिक्षा-दिक्षा, शील, गुण, कर्तव्य, अधिकार र सामाजिक तवरले पनि सुन्दर तथा सम्माननीय शब्दले वर्णन गरेको पाईन्छ। घर गृहस्थी र समाज मात्र नभई साम्राज्यको लागी नारीहरुलाई सुख, समृद्धि, तेजवती, देवी, विदुषी, सरस्वती, जननी, माता आदि इत्यादि आदरसुचक शब्दहरुले वर्णन गरि सम्मान र स्थानमा कुनै कसुर बाँकी छोडेको छैन।

वेद अनुरूप नारीका मार्गहरु पछ्याएर हेर्ने हो भने नारीहरुलाई कुनै पनि कुरामा प्रतिबन्धित पनि गरिएको थिएन । अध्ययन अध्यापन सँगै यज्ञ, होम, युद्ध, रणमैदान र राज्य देखभालसम्म नारीहरुको अग्रसरता उल्लेख्री एवम् प्रवल देख्न सकिन्छ। यसै गरी स्त्रीलाई परिवारको मेरुदण्ड, शक्ति र विजयको प्रतिक, सफलताको कारक, प्रेमको पर्याय अनि धैर्यताको उच्चतम नमुना जस्ता अनेकौं उपमा अलंकारले परिभाषित गरेको पाइन्छ।

अझ आकाश जस्तै व्यापक, नदी जस्तै अनवरत, जल जस्तै निश्छल,मधुरभाषी, धर्ती जस्तै शहनशिल जस्ता शब्दहरुले स्त्रीको स्थानलाई उच्च र फराकिलो बनाएको पाईन्छ। यी त भए सबल र सफल पक्षका कुराहरु ।

अब देब्रे मोडेर यसको विपरीत पक्षको बारेमा यससँग सबन्धित घटनाक्रमहरु केलाएर हेरौँ । मर्यादा पुरुष रामले रामायणमा माता सीताको सतीत्वको अग्नि परीक्षा लिनु, त्यस्तै राजा दशरथको बहुविवाह जस्ता विषयले दयनीय चित्र प्रस्तुत गर्दछ । तर समग्र चारै वेदमा भने बहु विवाहको बारेमा कहीं कतै उल्लेख नगरिएको कुरा मननीय छ ।

महाभारत काल त झनै सामाजिक राजनीतिक र नैतिक मुल्यको पतन भएको युग मानिन्छ । जस्तै धृतराष्ट्र अन्धो भएकै कारण गान्धारीले जीवन भर आँखामा पट्टी बाँधेर बस्नु पर्ने, द्रौपदीलाई पाँच जना पतिको पत्नि बनाईनु र पालो लगाइनु, स्त्रीलाई वस्तु र सम्पत्तिसँग तुलना गरी जुवा खालमा दाउमा लगाइनु, द्रौपदीको सारी खिचेर सतीत्व हरणको चेष्टा गरिनु आदि कुराहरुले प्रस्ट हुन्छ की माहाभारत कालमा सामाजिक दृष्टिकोणले नारी प्रतिको दमनात्मक प्रवृत्ति अत्यन्त उग्र र हावी थियो ।

यसैगरी आफ्नो प्रेमलाई सफल बनाउनको लागी अर्जुनले प्रेमिका सुभद्रालाई हरण गर्नु, यस्तै दुश्चरित्रा, विचार-विहिना सर्पिणी गरल ईत्यादि विशेषणले स्त्रीहरुको उपेक्षा गरेको पनि महाभारतमा पाउन सकिन्छ । माता देवकीलाई आफ्नै दाई कंशद्वारा कैयौं साल बन्धक बनाइनु, गोमा ब्राह्मणीको बाल विवाहजस्ता पक्षहरु विफल पक्षहरु हुन् र जहाँ आएर सम्पुर्ण सबल पक्षले घुँडा टेकेको छ।

यस्तै विधवा विवाह वर्जित गरिनु, पुनर्विवाह गर्ने नारीलाई दुराचारिणीको संज्ञा दिइनु र जुन पुरुषले विधवा स्त्रीसँग सम्बन्ध स्थापित गर्छ उसलाई श्राद्ध, सस्कारबाट वंचित हुनु पनि हाम्रा धर्मग्रन्थमा नारी उपेक्षाको चरम रुप मान्न सकिन्छ । पुनः प्राचीनकाल मा आएर सती प्रथाले नारी इतिहासलाई कलंकित तुल्याएको छ तर वेदमा सती प्रथाको उल्लेख कहीं कतै भएको पाईंदैन।

यसैले महाभारत पुराण, रामायण स्वस्थानी आदि इत्यादि पुस्तकहरु कालान्तरमा आएर बनेका संग्रहहरु मात्र हुन् जसमा सत्यता छैन तर वेद भनेको ज्ञान हो ज्ञानले कहिल्यै गलत सिकाउदैन । सन् २००७ मा संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले ऋग्वेदका ३० पाण्डुलिपिहरुलाई सांस्कृतिक धरोहरको सूचीमा समावेश गरेको कुरा सर्वविदित नै छ । यसर्थ कथा र ज्ञान फरक कुरा हुन् कथा भित्र पात्रहरुको उतार चढाव, राम्रा नराम्रा पक्षहरु आउनु नै पुस्तकको विशेषता हो । तर वेद यानि ज्ञानमा केवल अकाट्य र मानवजगत सँग सम्बन्धित अपरिहार्य ज्ञानहरु समावेश भएका छन् ।

कुनै पनि शिक्षाले गलतलाई आत्मसात गर, गलतलाई साथ देउ भनेर अवश्य भन्दैन । तर हामी सही र गलत के हो जान्दा जान्दै पनि सही कुरा यथावत छाडेर गलतलाई अनुसरण गर्छौं । एक जुवाडेले भलै महाभारतमा जुवा खालको कुरा आयो भन्दैमा के अब महाभारतले जुवा खेल्न सिकायो महाभारत जलाउनु पर्यो भन्नु जायज कुरा हो ? जुवा खेल्यो भने अवस्था कस्तोसम्म पनि आउदो रहेछ भन्ने बुझेर जुवा खेल्नु हुदैन भन्ने पाठ सिकेर मानसिकतामा परिवर्तन गर्नु के ज्ञान हुन सक्दैन ?

एक गँजेडीले भगवान शिवले विष भाङ धतुरो खाएको कुरा लिएर, मलाई महादेवले बिगार्यो भनेर, पशुपति र शिवालय भत्काउन जाने कि मानसिकता र व्यवहारिकतामा परिवर्तन गरेर गाँजा छोड्ने । परिवर्तन पल्लो घरबाट हैन आफ्नै घरबाट सुरु हुनु पर्छ, त्यसको लागि मानसिकतामा परिवर्तन आउनु पर्छ। पुस्तकका पाना च्यातेर हैन महोदय, दिमागमा लागेको भ्रमको जालो च्यात्नु पर्छ । अनि देशको एक शीर्ष स्थानमा बसेको नेतृले केही बोल्नु अगाडी शब्द चयनमा र समायोजनमा ध्यान दिनु पर्छ किनकी ति अभिव्यक्तिहरु देश र धर्मका अभिव्यक्तिहरु हुन् जुन सुन्ने कानहरु हजारौं हुन्छन् मनन गर्ने पनि ।

राष्ट्रको एक जिम्मेवारी पदमा रहेको व्यक्तिले धार्मिक विश्वास भड्काउने र अराजकतालाई बढावा दिने खालको अभिव्यक्ति दिनु देश र जनता दुबैको लागी विष सावित हुन सक्छ । सही अभिव्यक्तिको लागी गृहकार्य गर्नुहोस् जसले बोल्ने र सुन्ने सबैको हित गरोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button