पोखरा थिएटर तेस्रो वर्षमा प्रवेश

राजाराम पौडेल, पोखरा न्यूज – ०३ ,फागुन । पोखरा थिएटरको गन्धर्व नाटकघर सञ्चालनमा आएको दूई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । तेस्रो वर्ष प्रवेशको अवसरमा थिएटरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सहभागी बक्ता हरुले पोखरा थिएटर सञ्चालन भएपछि पोखराको रंगमञ्चले राष्ट्रिय स्तरमानै तरगं ल्याएको बताए । गण्डकी प्रदेशमा सञ्चालनमा रहेको एकमात्र थिएटर भएको कारण पनि यहाँको कला संस्कृतिलाई जगेर्ना गर्न यसले महत्वपुर्ण भुमिका खेलेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व कुलपति साहित्यकार सरुभक्त श्रेष्ठले थिएटरको दिगोपनाको लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले लगानी गर्नुपर्ने बताए । छोटो समयमा सुस्ताएको पोखरेली रंगमञ्चलाई चलायमान बनाउन थिएटर सफल भएको उनको भनाई थियो । वरिष्ठ संस्कृतिकर्मी तिर्थ श्रेष्ठले पोखरा थिएटरमा हुने विभिन्न गतिविधिका कारण पोखराको साहित्य, कला र संस्कृतिलाई जोगाउन मद्दत पुगेको बताए ।

साहित्यकार प्रकट पंगेनी शिवले पोखरा थिएटर सञ्चालनमा आएपछि पुनः आफु रंगमञ्चमा फर्कन पाएको र अभिनय गर्ने जोश अझै बाँकी रहेको बताए । आख्यानकार कुमार नगरकोटीले पोखराको रंगमञ्चको बारेमा रंगकर्मी अनुप बरालसँग बारम्बार कुरा हुने गरेको बताए । वरिष्ठ कलाकार प्रकाश घिमिरेले पोखरा थिएटर सञ्चालनमा आएपनि ४ वटा नाटकमा अभिनय गर्ने अवसर मात्र नभएर नयाँ पुस्तालाई जानेको कुरा सिकाउन पाएको भन्दै खुशी व्यक्त गरे ।

लेखक गनेश पौडेलले पोखरामा थिएटर सञ्चालनका कारण थिएटरप्रतिको आर्कषण बढाएको बताए । पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले थिएटरसँगको सहकार्यमा फिल्मी समिक्षा कार्यक्रम सञ्चालन गरिरहेको भन्दै आगामी दिनमा पनि सँगसँगै यात्रा गर्ने वाचा गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष अरुण गिरीले पोखरा थिएटरलाई सफलताको शुभकामना दिदै थिएटरसँग सहकार्य गर्ने बताए । पोखरा थिएटरका अध्यक्ष परिवतर्नको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पोखरा थिएटरका संञ्चालक दिल प्रसाद गुरुङले र सञ्चालन रंगपत्रकार राजाराम पौडेलले गरेका थिए ।

पोखरा थिएटरको औपचारिक उद्घाटन २०७४ फागुन २ गते भएकोे थियो । दूई वर्षको वर्षको अवधिमा यहाँ विभिन्न ४७ वटा नाटक मञ्चन भए । पहिलो वर्ष २३ र दोस्रो वर्ष २४ वटा नाटक मञ्चन भएका थिए । जसमध्ये पोखरा थिएटरको आफ्नै प्रस्तुतीका १० नाटक मञ्चन भएका थिए ।

यसैबिच पोखरामा आगामी फागुन ९ गतेदेखि नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीमा थिएटर स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसरमा मञ्चन हुन लागेको हो । जसको लागि तयारी भइरहेको थिएटरले शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जनाएको छ । नाटक मञ्चनको लागि यतिबेला रिर्हसल भइरहेको छ । दिपक पराजुलीले लेखेको नाटकलाई पंच सुब्बा गुरुङले परिकल्पना तथा निर्देशन गर्दैछन् ।

गुरुङको यो डेब्यु निर्देशन हो । नाटकमा नवराज गिरी, विष्णु तिमिल्सीना, निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमिल्सेना, राजेन्द्र अधिकारी, सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल, देवेन्द्र चोचाङगी मगर, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे, धनकाजी श्रेष्ठको आदी कलाकारको अभिनय हेर्न पाइनेछ । झण्डै एकघण्टाको यस नाटकलाई उत्कृष्ट बनाउने प्रयासमा निर्देशक र कलाकार यतिबेला जुटिरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button