सामान्य कथामा उत्कृष्ट फिल्म बनाउन सकिने निष्कर्ष

राजाराम पौडेल, पोखरा न्यूज – ०३ ,फागुन । फिल्म क्षेत्रसँग सम्बन्धित कलाकार, पत्रकार, फिल्मकर्मीहरुले सामान्य कथामा उत्कृष्ट फिल्म बनाउन सक्ने बताएका छन् । शनिबार पोखरामा इरानी चलचित्र ‘चिल्ड्रेन अफ हेभन’ फिल्म हेरेपछि गरिएको समिक्षा कार्यक्रममा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

‘चिल्ड्रेन अफ हेभन’ फिल्मलाई इरानी निर्देशक माजिद माजिदीले सामान्य विषयवस्तुलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको उनीहरुले बताए । जुत्ता हराएपछि दाजु–बहिनीले भोग्नुपरेको समस्या फिल्मको मुख्य कथावस्तु थियोे । विदेशी भाषातर्फ इरानबाट पहिलोपटक ओस्कार नोमिनेसनमा पर्न सफल ‘चिल्ड्रेन अफ हेवन’मा माजिदीले साना, सुन्दर अनि मायालु दाइ–बहिनीबीचको अलौकिक सम्बन्धलाई निकै हृदयस्पर्शी ढंगबाट प्रस्तुत गरेका छन् । मीठो कथा, आकर्षक शैली र जीवन्त अभिनयले फिल्म झनै गजबको देखिएको थियो । जसले दर्शकको ध्यान खिच्यो । कतिले यो कथामा आफ्नो अपनत्व पाए । फिल्म हेरेर गरिएको समिक्षामा उपस्थित दर्शकले नेपाली चलचित्र तथा अन्य भाषाभाषीका चलचित्र सबैले बुझिने गरि साधारण तरिकाले बनाउन अनुरोध गरे ।

पोखरा थिएटर, चलचित्र पत्रकार संघ नेपाल कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । शनिबारको कार्यक्रममा सहजिकरण पोखरा फिल्म सोसाइटीका अध्यक्ष जितेश प्रधानले गरेका थिए । सामान्य कथालाई साधारण क्यामराबाट छायाकंन गरेरै उत्कृष्ट बनाउन सकिन्छ भन्ने सन्देश यो फिल्मबाट लिन सकिने प्रधानले बताए । नेपालमा निर्माण गरिने चलचित्रको ट्रेन चित्त नबुझेरनै आफुले फिल्म निर्देशनमा हात नहालेको उनको प्रष्टोक्ति थियो । वृत्तचित्र निर्देशन गरिरहेको भएपनि फिल्म निर्देशनको लागि उपयुक्त समय कुरेको प्रधानको भनाइ थियो ।

गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानका अध्यक्ष भोजबहादुर गुरुङले आगामी दिनमा दर्शकले गरेको समिक्षाको आधारमा आफुले निर्माण गर्ने फिल्म मार्फत फरकपना दिन खोज्ने वाचा गरे । बलिउड र साउन इन्डियन फिल्मको नक्कल गर्न खोज्दा नेपालमानै रहेका सामान्य कथा बाहिर आउन नसकेको भन्दै उनले अब त्यसतर्फ ध्यान दिइने बताए ।

फिल्म तथा कलाकारिता क्षेत्रमा लागिरहेका, कलम चलाइरहेका व्यक्तिलाई एकैठाउँमा जमघट गराउन यो कार्यक्रमले सबैमा उर्जा थप्नेछ । निर्माण भएका र हुने क्रममा फिल्ममा समावेश गर्नुपर्ने विषयवस्तु, ध्यानदिनुपर्ने कुरा मात्र नभएर एक अर्काको ज्ञानआदानप्रदान हुने आयोजकको विश्वास छ । पोखरामा सुरु भएको फिल्म प्रर्दशन गरि सो फिल्ममाथि समिक्षा गर्ने कार्यक्रम अन्तर्गतको तेस्रो संस्करणमा यो फिल्म प्रर्दशन गरी समिक्षा गरिएको हो । यस अगाडि दूई श्रृखला सम्पन्न भइसको छ ।  पौषमा भएको पहिलो श्रृखलामा चाइनिज फिल्म ‘द रोड होम’ र माघमा भएको द्रोस्रो श्रृखलामा हलिउड फिल्म ‘क्रेजि रिच एशियन्स’ प्रर्दशन गरेर समिक्षा गरिएको थियो ।

पोखरामा चलचित्र हेर्ने, बुझ्ने र त्यसमाथी समिक्षा गर्ने संस्कार विकास गर्न यो कार्यक्रम गरिएको हो । यो कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका फिल्म प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको उद्धेश्य हो । सम्भव भएसम्म सम्बन्धित फिल्ममा आवद्ध व्यक्तिलाई बोलाएर अन्तरक्रिया  गरिनेछ । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा पुगेर फिल्म हेर्न र समिक्षा भाग लिन सबैमा आयोजकको छ । कार्यक्रम प्रतिको चासो र दर्शक सहभागिता बढ्दा आयोजक उत्साहित बनेका छन् । फिल्म प्रर्दशन र समिक्षा कार्यक्रम पोखरा थिएटरको गन्र्धव नाटकघरमा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button